क्रान्तिका सतिसाल श्रीनाथ अधिकारीका ऐतिहासिक सन्दर्भहरुः

416
views

–परशुराम कोइराला
विषयारम्भः
समाजमा असल र इमानदारहरुलाई मन पराउने नपराउने सबैखाले मानिसहरु हुन्छन् । जसका जिन्दगी देश, समाज र जनताकै लागि बित्यो । समग्र परिवर्तनका लागि जिन्दगी गुजार्ने अत्यन्तै नैतिक र इमानदार धेरै मध्येका एक मानिन्छन् श्रीनाथ अधिकारी (क.श्याम) । निष्ठा र इमानदारिताका प्राय सबैले मूल्यवोध गर्न, चिन्न र कदर गर्न नजानेको हाम्राजस्ता समाजमा असल मानिसहरुलाई सहज नहुनु पनि अस्वभाविक हुँदैन । सैद्धान्तिक, राजनैतिक र बैचारिक व्यक्ति, पात्रहरुका महत्व नदेख्ने, नबुझ्ने समाजमा सर्वहारा वर्गका अवस्था, सर्वहारावर्गीय मानवता, क्रान्ति, मुक्ति र परिवर्तनप्रति कम्युनिष्ट आदर्शका मुल्यबोध पनि प्राय हुँदैन । जस्तोसुकै विपत्तिमा पनि नआत्तिने र नथाक्ने अधिकारी समाजवादी आन्दोलनको अभिन्न अङ्ग बनेको नेपाली कम्युनिष्ट आन्दोलनका प्रतिवद्ध अविचलित हस्ति मानिन्थे । पार्टीका जिल्ला, राज्य, प्रदेशदेखि पोलिट व्युरोसम्मका विभिन्न जिम्मेवारीमा रहेर सामाजिक न्याय, मानवतावाद, तीव्रताको रुपान्तरणकारी परिवर्तन, सर्वहारा वर्गीय सत्ताका खोजमा निरन्तर लड्ने क्रान्तिकारी नेता देखिन्छन् ।

पारिवारिक अवस्था र शिक्षा दीक्षाः

२०१२ साउन ९ मा डालचन्द्र र सरस्वती अधिकारीका जेठा छोराका रुपमा गोर्खा लब्सीबोटमा जन्मेका श्रीनाथ अधिकारी वाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका जिज्ञासु देखिन्छन् । कान्छा भाइ जीवनाथ, तीन दिदी बहिनी (दमन्ती तिवारी, सीता दवाडी, शान्ता पौडेल) २०२४ मा राधिका अधिकारीसँग विवाह भएपछि जन्मेका ५ सन्तानमध्ये छोरी दुई शुशीला र शकुन्तला । छोरा ३ मध्य क्रमशः नारायण, उत्तम, उज्वल अधिकारी र १० नातिनातिना, १ पनाति, इष्टआफन्तका ठूलो लर्को अधिकारीका पारिवारिक पृष्ठभूमि र सूचनाका सन्दर्भ हुन् ।

तत्कालीन ज्ञानज्योति निमावि लब्सीबोट गोरखाबाट आधारभूत शिक्षा, अमरज्योति मावि हंसपुर गोरखामै माध्यमिक शिक्षा, इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकबाट प्रमाणपत्र तहसम्मको अध्ययनपछि नारायणी सिंचाई योजनामा ओभरसियर जागिरे, ०३४ देखि नेकपा (चौम) को (डि.आर.पोखरेलबाट लिएको) साधारण सदस्यतासँगै कम्युनिष्ट राजनीतिमा प्रवेश र निरन्तर क्रान्तिकारी धारका पक्षमा सतिसाल भएर उभिनुका पहिचान अधिकारीका ऐतिहासिक सन्दर्भहरु हुन् ।

अधिकारीको राजनीतिक जीवन

२०३४ देखि चौमका सदस्य हुँदै ०३६ भदौदेखि पार्टी आग्रहमा पूर्णकालीन कार्यकर्ता, ०३६ पुसमा च्याङ्लिङमा सम्पन्न पार्टीको प्रथम गोरखा जिल्ला सम्मेलनमा जिल्ला कमिटी सदस्य निर्वाचित, विभिन्न मोर्चा सङ्गठनात्मक आवद्धता सँगै ०४१ असोजमा सम्पन्न दोस्रो गोरखा जिल्ला सम्मेलन समयमा आफुले परिवार नियोजन गरेका प्राविधिक कारण सम्मेलनमा सहभागी हुन नसकी निर्मल जोशीका जिल्ला सचिवत्वमा पुन जिल्ला कमिटी सदस्य, ०४१ पुसमा सम्पन्न पार्टीको पाँचौ महाधिवेशनका गोर्खा प्रतिनिधि । पाँचौ महाधिवेशनमार्फत नेता मोहनबिक्रम सिंहलाई कार्यवाही गरिएपछि निष्क्रिय देखिएका गोरखा सचिव निर्मल जोशीपछिका गोर्खाका पार्टी सचिवको जिम्मेवारी समाल्नु भएका श्रीनाथ अधिकारी ०४५ मङसिरमा पार्टी कायदिशा बमोजिम क्रान्तिको घनिभूत तयारीका क्रममा पूर्णकालीनहरुका जिल्ला समिति वीच पारिवारिक व्यवस्थापनका समस्या देखाएर जिल्ला सचिव पद भवनाथ अधिकारीलाई सुम्पेर ०४६ भदौसम्म श्रीनाथ अधिकारी जिल्लाको मूल नेतृत्वमा नरहेको देखिन्छ । सधैं अवसरवाद विरुद्ध लड्ने अधिकारी ०४६ भदौमा मस्र्याङ्दीमा राजतन्त्र विरोधी पर्चा छर्ने प्रक्रियापछि असन्तुष्ट रहेर केही समय भुमिका विहीन थिए भन्ने अधिकारीका तात्कालिक सहकर्मी भक्ति लामिछानेका अनुसार जनआन्दोलनमा भुमिका निभाउने जिल्ला सङ्गठन समिति निर्माणका लागि धुँवाकोटका ३ चैत ०४६ को जिल्ला भेलाले भवनाथ अधिकारीका सचिवत्वका जिल्ला समिति गठन भयो । श्रीनाथ अधिकारी ०४७ जेठतिर फेरि पूर्णरूपमा पार्टी काममा फर्केको देखिन्छ । ०४७ फागुन २ गते वाचस्पति देवकोटा एमालेमा पसेपछि श्रीनाथ अधिकारी नेतृत्वको गोरखा जिल्ला सङ्गठन कमिटी बनेको थियो । ०४८ का संसदीय निर्वाचनमा थोरै मतले श्रीनाथ गोरखा क्षेत्र नं.१ मा पराजीत हुनुपर्यो । ०४८ कार्तिक मै सम्पन्न तेस्रो जिल्ला सम्मेलनमा उठेका निर्वाचन पराजयका विषय र मतभेदले श्रीनाथलाई हटाइ सुरेश वाग्ले जिल्ला सचिव चुनिएको देखिन्छ । तर त्यतिबेला महाधिवेशन प्रतिनिधिका रुपमा सुरेश वाग्ले, श्रीनाथ अधिकारी, खोपबहादुर कँडेल, हरिराज अधिकारीले गोरखाबाट प्रतिनिधित्व गरेको देखिन्छ ।

०४८ माघ, फागुनतिर पार्टीको क्षेत्रीय ब्युरो सदस्य, ०५१ मा चितवनमा सम्पन्न तत्कालीन नेकपा (एकताकेन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा आमा सरस्वतीका देहावसानका कारण उपस्थित हुन असमर्थ भएका कारण केन्द्रीय सदस्य हुन नसक्नु भएका अधिकारी ०५२ जेष्ठमा जनयुद्ध शुरु भएपछि गोरखा, धादिङ, बागलुङ, रुपन्देही, तनहुँ, चितवनमा कार्यरत देखिन्छ ।

पञ्चायत कालमा सम्मर, ०४८ पछि शुक्र, युद्धकालमा श्याम नामबाट चिनिने श्रीनाथ नेपाली क्रान्तिकारी आन्दोलनमा स्पष्ट विचार र नेतृत्व दिनसक्ने यस क्षेत्रकै दरिला खम्बा मानिन्थे । मालेमावादका पथप्रदशक सिद्धान्तका आधारमा नयाँ जनवादी क्रान्ति सम्भव देख्ने अधिकारी ०६० देखि पार्टीको केन्द्रीय सदस्य, ०६३ को शान्ति प्रक्रियापछि केही समय काठमाडौं कार्यक्षेत्र खटाइ, ०६९ असार १ बाट तत्कालीन नेकपा (माओवादी) का तमुवान सह–इन्चार्ज, सचिव हुँदै नेकपा (माओवादी) को तमुवान इन्चार्ज, नेकपा (एकीकृत ) सँगको एकतापछि बनेको नेकपा (क्रान्तिकारी माओवादी) को पोलिट व्युरो सदस्य, प्रदेश नं.४ को इन्चार्ज, सचिव, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सचिवालय सदस्य, साँस्कृतिक रुपान्तरण अभियान नेपालका सल्लाहकार आदि भूमिकामा रहेर अधिकारीले पुर्याएका योगदान महत्वपूर्ण छ । क्रान्तिकारी कम्युनिस्टहरुबीच एकता जरुरी पनि देख्नु, क्रान्तिले धक्का खाएका बेला जनविरोधी, दक्षिणपन्थी प्रतिक्रियावादीका राज्यसत्ताबाट दमन हुनुलाई स्वभाविक मान्नु र क्रान्तिकारीहरुले गम्भीरतापूर्वक लिन सक्नुपर्ने धारणाका धनी अधिकारी स्पष्ट विचार दिन सक्ने नेता मानिन्थे ।

अन्तरसङ्घर्षमा अधिकारी

साम्राज्यवाद, विस्तारवाद, नवउदारवाद र आत्मसमर्पणवादसँगका साँठगाँठ परिणामहरु अवसरवादीहरुका लागि सुन्दर देखिए पनि त्यसका परिणाम देश र जनताले भोगिरहेकै छन् । अन्तरसङ्घर्षका सवालमा अधिकारी प्रष्ट देखिन्थे ।

तत्कालीन नेकपा (चौम) भित्रको अन्तरसङ्घर्ष, ०४१ तिर नेकपा (मशाल) भित्रको अन्तरसङ्घर्ष, ०५० र ५१ तिरको अन्तरसङ्घर्षमा सँस्थापन पक्षमा ढृढ रुपमा उभिएका श्रीनाथ शान्ति प्रक्रियापछि ०६५ को खरिपाटी भेला र पालुङटार विस्तारित बैठकमा मूल नेतृत्वको दस्तावेजलाई विसर्जनवादी दस्तावेज भन्दै क.किरणका क्रान्तिकारी दस्तावेजका पक्षमा ढृढतासाथ उभिने क्रान्तिकारी नेताका रुपमा देखा पर्नु भयो । दलाल तथा नोकरशाही पुँजीवादसँग आत्मसमर्पण गरेर आर्थिक क्रान्ति भन्दै कम्युनिष्टका नाममा सत्तामा पुग्नेहरुप्रतिका खरो आक्रोश र आलोचना पनि सत्य सावित देखिएकै छन् । साम्राज्यवाद, विस्तारवाद, नवउदारवाद र आत्मसमर्पणवादसँगका साँठगाँठ परिणामहरु अवसरवादीहरुका लागि सुन्दर देखिए पनि त्यसका परिणाम देश र जनताले भोगिरहेकै छन् । अन्तरसङ्घर्षका सवालमा अधिकारी प्रष्ट देखिन्थे ।

विचार, दर्शनमा प्रष्ट अधिकारी

क्रान्तिकारी कम्युनिष्ट विचार, आदर्श र मालेमावादी दर्शनमा प्रष्ट, दख्खल, दृढ, सरल जीवन व्यवहार, मीतव्ययी र व्यवहारमा क्रान्तिकारी कार्यदिशाका पक्षमा निरन्तर लगाव सहित कुशल संगठक हुनु अधिकारीको मूल बिशेषता देखिन्छ । राजनीतिक परिवर्तन भएपनि सामाजिक, साँस्कृतिक परिवर्तनका अनुभूति जनसाधारणलाई हुन नसक्नुका कारणले पनि अधिकारीलाई सन्तुष्टि प्राय हुन्नथ्यो । दुईलाइन सङ्घर्ष चलिरहेका बेला वर्गीय समस्या हल नगरी एकाएक अप्रत्याशित रुपमा जनयुद्धको अन्त्य भएको घोषणा गरिंदाको त्यो ५ चैत ०६३ लाई दुखद दिन मान्ने अधिकारी नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन तुहाउन क.किरण, सिपि गजुरेल, सोनाम, मातृका यादव, सुरेश आले आदिका भारतमा भएका गिरफ्तारी, पछिल्लो समयमा जनमुक्ति सेना विघटन र लोकतान्त्रिक गणतन्त्रको कार्यक्रम आदिलाई कम्युनिस्ट नियोजनकै रुपमा विश्लेषण गर्नुहुन्थ्यो । जुन प्रमाणित देखियो पनि । प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले संसदीय गणतन्त्र मार्फत जनवादी गणतन्त्रमाथि बिषारोपण गरेका अधिकारीका धारणाहरु उहाँलाई नजिकबाट चिन्ने र घुलमिल हुनेहरु वीच गुञ्जिरहनेछन् निरन्तर ।

मिलनसार व्यक्तित्व अधिकारी
देशभक्त र क्रान्तिकारी धारका वर्ग, समूह र मानिसहरुलाई माया गर्ने, उनीहरूसंग मिल्ने, वर्गसमन्वयवादी, गलत प्रवृत्तिहरुप्रति हाँसिहाँसी प्रहार गर्ने, भिन्न दस्तावेजहरुमा बहस गर्ने क्रममा पार्टी नै विभाजन भएपनि व्यक्तिगत रुपमा कोही कसैसँग अस्वस्थ पूर्वाग्रह नराख्ने अधिकारीमा आन्तरिक जनवादलाई सम्मान गर्ने चिन्तन देखिन्थ्यो ।

क्रान्तिकारी आशावादिता

भारतीय विस्तारवाद, देशीय सामन्तवाद, नोकरशाही दलाल पुँजीवाद, सबैखाले उत्पीडन आदिबाट मुक्त हुन वर्गसंघर्ष अनिवार्य देख्ने अधिकारी क्रान्तिकारी नेता थिए । युद्धपूर्वका स्थितिमा होस् वा युद्धकालीन वा शान्ति प्रक्रियापछिका चरणहरुमा होस् अमानवीय गलत र सबैखाले विभेद उत्पीडनकारी तत्व, प्रवृत्तिहरुका विनाश हुनु अनिवार्य देख्ने प्रवृत्ति थियो अधिकारीमा । अप्ठ्यारोमा पनि नआत्तिने स्वभाव, गरिखाने वर्गप्रतिका माया, वास्तविक परिवर्तनको निरन्तर अपेक्षावोध, तदनुरुपका योजना आवश्यक देख्दै वर्गसमाजबोध, बर्गसङ्घर्षका निरन्तरतामा दृढ विश्वस्त देखिने अधिकारीमा क्रान्तिकारीहरुका सुन्दर भविष्य हुनेमा विश्वास देखिन्थ्यो । माक्र्स, ऐगेल्स, लेनिन, स्टालिन हुँदै माओसम्मका विकसित चिन्तन, रुपान्तरणकारी संस्कृति र व्यवहारहरुले विश्वलाई नयाँ दुनिया खोज्न, निर्माण गर्न प्रेरित गरेको मान्थे उनी । महान १० बर्षे जनयुद्ध प्रभावकारी भएपनि नेतृत्वमा आएका विचलनले जनताका आशा आकाँक्षा भताभुङ्ग परेका देख्थे उनी । व्यवहारमा क्रान्तिकारी संस्कृतिका ढृढ पक्षपाती अधिकारीको परिवार पनि क्रान्तिकारी राजनीति र संस्कृति कै पक्षमा ढृढ देखिन्छन् ।

निष्कर्ष

अत्यन्तै अध्ययनशील श्रीनाथ अधिकारी (क.श्याम) को मुल व्यक्तित्व इमानदार क्रान्तिकारीता नै हो । विनायोजना र उन्नत सोच केही गर्न नसकिने निष्कर्षसाथ हरेक निर्णय लिंदा दुरगामी भएर सोंच्नु, चित्त नबुझेको कुरा प्रष्ट राख्नु, आलोचना, आत्मालोचना विधि प्रक्रियालाई पार्टीमा अनिवार्य देख्नु, समाजका सुन्दर असुन्दर सबै पक्षका विभिन्न कोणबाट सूक्ष्म अध्ययन विश्लेषणमा जोड दिनु र आधारभूत वर्ग नउठेसम्म क्रान्तिमा गति नआउने मान्यता राख्नु अधिकारीका विशेषताहरु थिए । श्रमजीवी, सर्वहारा वर्ग पक्षधरता सहित नयाँ रूपान्तरण र नयाँ प्राप्तिका लागि पुरानाका मृत्युु वा समाप्ति अनिवार्य देख्ने माक्र्सवादी दर्शनका आलोकमा विकसित लेनिनवादी दर्शन र यी दुवै दर्शनका आलोकमा चीनका विशेषतामा हुर्केको माओवादी दर्शनले विकास गरेका मुल मान्यतालाई यहाँका तमाम उत्पीडित वर्ग र नेपाली समाज अनुकूल पार्ने प्रयत्न चेष्टा गर्दागर्दै भौतिक रुपमा अवशान हुन पुगेका पात्र मानिन्छन् नेता अधिकारी । राष्ट्र, राष्ट्रियता, जनजीविका र जनाधिकारका हरेक मुद्दा र लडाइँमा अधिकारीले र्पुयाएका योगदान अविष्मरणीय बनिरहने छन् । अहिलेलाई हार्दिक श्रद्धाञ्जली ।