अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

858
views

डोटी । डोटीको शिखर नगरपालिका वडा नं–७ बैरकोटमा रहेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अज्ञात समूहले गएराति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएका छन् । आगजनी गर्ने समुहको खोजीकार्यसँगै अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए । विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ ।