भारतीय प्रधानमन्त्री मोदी तत्काल नेपाल नआउने

1026
views

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी तत्काल नेपाल भ्रमणमा नआउने भएका छन् । मोदीको नेपाल भ्रमणका लागि कुटनीतिक पहल भएपनि तत्काल नआउने भएका हुन् । नयाँ दिल्लीस्थित विश्वस्त स्रोतका अनुसार मोदीको साटो भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर नेपाल भ्रमणमा आउनेछन् । भदौमा मोदी नेपाल आउने चर्चा चलिरहेको थियो ।

मोदी भुटान भ्रमणमा जाने र त्यसपछि नेपाल आउने सम्भावना औल्याइएपनि नआउने संकेत भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले गरिसकेका छन् । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भ्रमणका लागि कुटनीतिक पहल गरेपनि अझै समय लाग्ने देखिएको हो ।

नेपाल भारत प्रबुद्ध समूह इपीजीको प्रतिवेदन नबुझेको र केही महत्वपूर्ण विषय टुंगोमा नपुगेकाले तयारी भइनसकेकोले मोदीको भ्रमण नहुने भएको हो । भारतले कतिपय विषयमा नेपाललाई धारणा लिएर आउन भन्दै आएको छ । यसले पनि महत्वपूर्ण विषयहरु टुंगोमा पुग्न सकेको छैन ।

स्रोतका अनुसार ठूला जलविद्युत आयोजना र दुई देशबीच रहेका केही समस्याहरुमा भारतले नेपालको औपचारिक प्रस्ताव माग्दै आएको छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कुरा मिलिरहेको छैन । महाकाली सन्धीको अढाई दशकपछि पनि कार्यान्वयन अगाडि बढेको छैन । यसमा भारतले नेपालको प्रस्ताव नआइरहेको बताउँदै आएको छ ।

मोदीको भ्रमण अघि भारतले नेपालसँग केही महत्वपूर्ण विषयमा टुंगोमा पुग्न चाहेको बुझिएको छ । पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्रीबाट यसपटक भ्रमणको चासो नदेखिनुलाई गम्भीरताका साथ लिइएको छ ।

पहिलो कार्यकालमा मोदीले भुटानपछि नेपाललाई दोस्रो गन्तव्य बनाएका थिए । उनले धार्मिक र सांस्कृतिक भ्रमण गर्दै पशुपतिनाथ र मुक्तिनाथको दर्शन समेत गरेका थिए । मोदी लुम्बिनी जाने चर्चा चलेको थियो । रिपोर्टर्स नेपाल डटकमबाट