विवाह हलमा आत्मघाती बम विस्फोट

423
views

अफगानिस्तानको एक विवाह समारोहमा आत्मघाती बम विस्फोट गराइएको छ । विस्फोटमा धेरै मान्छेहरु हताहती भएको बताइएको छ । तर, यकिन तथ्यांक भने आइनसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । काबुलस्थित हलमा विवाह समारोह भइरहेको समयमा भएको घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् ।

विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् । अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ । विस्फोट बारेको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् ।