प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने

707
views

काठमाडौं, १, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आइतबार (आज) सम्बोधन गर्ने भएका छन् । ओलीले समसामयिक राजनीतिक घटनाक्रम र सार्वजनिक महत्वका विषयमा सदनमा सम्बोधन गर्ने भएका हुन् ।

संसद बैठक बिहान ११ बजे बस्दै छ । प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तरसमेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।

यसअघि असार ३ गते प्रधानमन्त्री ओलीले युरोपको नौदिने भ्रमणबारे जानकारी दिन र समसामयिक विषयमा बोल्न समय मागेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्ने समय दिएलगत्तै कांग्रेस सांसदले नाराबाजी गर्दै ‘बेल’ घेराउ गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीको कुरा सुन्न आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसद नाराबाजी गरी रोस्टम घेराऊ गरिरहेपछि संसद बैठक स्थगित भएको थियो ।