यार्सा संकलनका लागि स्थानीयबासी हिमाली भेगतर्फ प्रस्थान, कोहीका लागि आम्दानीको स्रोत, कसैका लागि मृत्यु

954
views

बैशाख १४ दार्चुला । उच्च हिमाली भेगमा पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलनका लागि यहाँका स्थानीयबासिन्दाहरु बन्दोबस्ती सहित हिमाली भेगतर्फ प्रस्थान गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङ्का स्थानीयले यार्सागुम्बा संकलन सुरु गरेका हुन् । दार्चुलाको ब्याँश, राप्ला, घुसा, खण्डेश्वरी, सित्तोला र गुल्जर गाविसमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीय हिमाली भेगतर्फ प्रस्थान गरिसकेका हुन् । समुद्र सतहबाट ३८ सयदेखी ४८ सय मीटरसम्मको उचाइमा पाईने यार्सा संकलनका लागि स्थानीयको ताँती लागेको छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । यार्सालाई स्थानीय शेर्पाहरुले ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्ने गर्दछन् । जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको स्थानीयको भनाइ छ । 
यार्सा संकलनका क्रममा कोहीका लागि मनग्ये आम्दानीको स्रोत हुने यार्सागुम्बा कसैका लागि मृत्युको वरदान साबित हुने गर्दछ । अत्यधिक चिसो, हिमपहिरो र अक्सिजनको कमीले गर्दा यार्सा याममा सयौँले ज्यान समेत गुमाउने गर्दछन् । हरेक वर्ष यार्सा याममा जाजरकोट, सल्यान, रुकुम लगायतका दसौँ हजारको सङ्ख्यामा सर्वसाधारण यार्सा टिप्न हिमाली भेगमा पुग्छन् ।