आज विश्व फोटोग्राफी दिवस

2379
views

तुलसीराम सुवेदी
पोखरा, २, भाद्र । आज १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाइएको छ ।

फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा देशब्यापी साईकल भ्रमणमा निस्किएका खोटाङका यूवा कर्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

देशव्यापी नेपाल साईकल यात्रामा निस्केका श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मान गरिएको हो । दिवसका अवसरमा पोखराको मानवअधिकार चोकबाट प्रभातफेरी सुरु भई चिप्लेढुंगा महेन्द्रपुल हुदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

देशमा भ्रष्टाचार मौलाउदै गएपछि चिन्तित बनेका श्रेष्ठले देशलाई भ्रष्टाचार मुक्त बनाउनुका साथसाथै देशका बिभिन्न पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्ने उदेश्यले साईकलबाट नेपाल भ्रमणमा निस्केको बताए ।

विश्वफोटोग्राफी दिवसका अवसरमा पर्यटन प्रबद्र्धन गर्दै भ्रष्टाचार मुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका ब्यक्तिलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफर, पत्रकार तथा फोटोपत्रकारहरुका लागि गौरवको कुरा रहेको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।

कार्यक्रममा बिश्व फोटोग्राफी दिवसका बारेमा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुड., पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले आ–आफ्नो धारणा राख्दै फोटोग्राफीको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले सञ्चालन गरेका थिए ।