चितवनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन

950
views

चितवन, २ भदौ । प्रहरी नियन्त्रणमा रहेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै आएका रवि लामिछाने समर्थकले निशेषेधित क्षेत्रको अवज्ञा गर्दै प्रर्दशन जारी राखेका छन् ।

रवि लामिछाने जिन्दावाद, लामिछानेलाई रिहाई गर, हिरासतमा मलाई हाल जस्ता नार लगाउँदै आएका सर्वसाधारणको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

संचारकर्मी नियन्त्रणमा लिएको विरोधमा निरन्तर प्रदर्शन भएपछि एक किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्रमा प्रदर्शन तथा मानिसको हुलहुज्जत गर्न निषेध गरिएको थियो ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकोले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।