प्रख्यात जुम्ली स्याउ नेपालगञ्जमा

936
views

नेपालगञ्ज । नेपालमा अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले बजार पाएको छ । जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको छ । शुरुआती चरण भएकाले दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोकमण्डीमा जुम्ली स्याउ खरिद बिक्री भइरहेको छ । यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताए ।

स्याउले नेपालगञ्जमा राम्रो बजार पाएपछि जुम्लाका किसान लाभान्वित भएका छन् । नेपाल फलफूल सागसब्जी व्यवसायी संघ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन् “जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउँछौँ ।”

नेपालगञ्जका व्यापारीले उक्त स्याउ बर्दिया र कैलालीसम्म बिक्री गर्दै आएका छन् । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए ।