प्रतिक्रान्तिकारी हर्कतविरुद्ध निर्ममताका साथ उभिनुपर्छ

852
views

-मनहरी तिमिल्सिना
सन् १९५९ मा फिडेल क्र्यास्टोको नेतृत्वमा क्युवामा सशस्त्र क्रान्तिले विजय हासिल गरेयता सशस्त्र क्रान्तिकै बलमा पूर्णतः समाजवादी क्रान्ति सम्पन्न भएका बिरलै दृष्टान्त छन् । विश्व राजनीतिमा समाजवादको अभ्यासका निम्ति कम्युनिष्ट पार्टीहरुले प्रयत्न भने गर्दै आएका छन् । नेपालको सन्दर्भमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनको बलमा कम्युनिष्ट शक्तिहरु सत्ताको केन्द्रमा छन् ।

नेपालको परिघटनालाई लिएर विश्वभरिका कम्युनिष्ट एवं प्रगतिशील शक्तिहरु आश्चर्यचकित् मात्र छैनन्, नेपालबाट विश्वले सिक्नसक्ने भन्दै आशाको नजरले हेरिरहेका छन् । त्यसैको परिणाम हो, विश्वभरिका कम्युनिष्टविरोधी शक्तिहरु नेकपालाई बदनाम गर्न सम्पूर्ण रुपले लागेका छन्। नेकपा र यसका नेता–कार्यकर्ताले नेकपाविरुद्ध पूँजीवादी शिविरबाटै अन्तराष्ट्रिय घेराबन्दी गरिरहेको तथ्यलाई भुल्नु हुँदैन ।घेराबन्दीमा पार्ने शक्तिकेन्द्रको नियोजित प्रयत्न हुन्छ नै। तर, त्यो नियोजित प्रयत्नको पछाडि नेकपालाई विश्वास गर्ने जनमत किन उभिइरहेको छ ? यो विषय नेकपाले समीक्षा गर्नुपर्ने तथ्य हो। जहिले पनि पूँजीवादी शक्तिहरुले कम्युनिष्टहरुका कमजोरीमै टेकेर घेराबन्दीका लागि कोशिस गर्दछन्, किनकि यो उनीहरुका लागि सजिलो बाटो हो ।

कम्युनिष्टहरुको समाजवादी क्रान्तिको कार्यदिशा कस्तो हुन्छ, समाजवादको अन्तरवस्तुबारे सैद्धान्तिक मान्यता के छ, आफ्नो सैद्धान्तिक मान्यताको व्यवहारिक प्रयोग कस्तो इमान्दारिता र कौशल राख्छन् ? यसकै आधारमा पूँजीवादी शक्तिले प्रतिक्रान्तिको रणनीति बनाउँछ ।

कम्युनिष्टहरुको समाजवादी क्रान्तिको कार्यदिशा कस्तो हुन्छ, समाजवादको अन्तरवस्तुबारे सैद्धान्तिक मान्यता के छ, आफ्नो सैद्धान्तिक मान्यताको व्यवहारिक प्रयोग कस्तो इमान्दारिता र कौशल राख्छन् ? यसकै आधारमा पूँजीवादी शक्तिले प्रतिक्रान्तिको रणनीति बनाउँछ ।

नेकपा शक्ति र जनमतका दृष्टिले त दुईतिहाई बहुमतमा छ । तर, विश्वदृष्टिकोण, सांस्कृतिक मूल्य मान्यता र संस्कृतिका दृष्टिले कहाँ छ, के साँच्चै वैज्ञानिक समाजवादकै गन्तव्यमा छ ? के नीजि सम्पत्तिको राष्ट्रियकरणको समाजवादी अन्तरवस्तुमा नेकपा र यसका नेता–कार्यकर्ता अडिन्छन् ? शान्तिपूर्ण सङ्घर्षकै बलमा समाजवादबाट जाने सैद्धान्तिक समझदारीका बाबजुद पार्टीभित्र र बाहिरका पूँजीवादीहरुमाथि निर्मम बन्न सक्छन्, नेकपालाई समाजवादी साँचोमा ढाल्न वैचारिक र प्रयोगात्मक मार्गदर्शन गर्न सक्छन् ? यस्ता प्रश्नको वस्तुनिष्ठ जवाफले नेकपाको भविष्य निर्धारण गर्दछ ।

तथापि, एउटा तथ्य प्रष्टै छ, नेकपा कमजोर बन्दा वा असफल हुँदा लोकतन्त्र मात्रै कमजोर बन्दैन, प्राप्त सम्पूर्ण परिवर्तनका मुद्दाहरु उल्टिन सक्छन्, गणतन्त्रको बिकल्प खोजिन्छ । प्रतिक्रान्ति बाजा बजाएर आउँदैन, यस्तो भद्रगोलबाट जन्मिने हो ।

तसर्थ नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता समाजवादी क्रान्तिको कार्यदिशा, यसका अन्तरवस्तु र आधारहरुबारे नेतृत्वलाई खबरदारी गर्दै प्रतिकूलताको जगमा खडा भएका प्रतिक्रान्तिकारी हर्कतविरुद्ध निर्ममताका साथ उभिनुपर्छ ।