कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई बारा प्रहरीद्वारा पक्राउ

700
views

नवदृष्टि संवाददाता
बारा, १४, जेठ । जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती मञ्जु देवीको हत्या गर्ने बारा जिल्ला हरैया गाविस– ३ का गगनदेव प्रसाद यादव र जेठाजु सत्यनारायण राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
मन्जु देवीलाई निजकै श्रीमान गगनदेव प्रसाद यादव, जेठाजु सत्यनारायण प्रसाद यादव, जेठानी जननी देवी यादव र गाउँकै भागिन्द्र प्रसाद यादव समेतको मिलोमतो र संलग्नतामा आगो लगाई हत्या गरिएको फैसला भएको थियो ।
उनको लाशलाई भारततर्फ लगी बेपत्ता पारेको कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौडाले सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो । बारा जिल्ला हरैया गाविस वडा नं.३ बस्ने लखन राउत अहिरको छोरा गगनदेव प्रसाद यादव र जेठाजु सत्यनारायण राउत अहिरलाई गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । हत्यामा संलग्न अन्यको खोजी भैरहेको रेग्मलिे बताउनुभयो ।