सुदुरपश्चिममा गौराको रौनक

1040
views

काठमाडौँ, ६ भदौ । सुदुरपश्चिमबासीको लागि गौरा पर्वत महान पर्व हो । यो पर्व शुरु भएको आज चौंथो दिन पुगेको छ । यस दिनलाई अठवाली (अष्टिमी) पनि भनिन्छ । आज श्रीकृष्ण जन्माष्टमीको दिन पर्छ ।

सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्ला र तराईका जिल्लामा बसोबास गर्ने पहाडी समुदायमा आज गौराको छुट्टै रौनक छाएको छ ।

भगवान् शिव र देवी पार्वतीको पूजाआजा गरी मनाइने यस पर्वमा सुदुरपश्चिमबासी देउडामा रमाउने गर्दछन् । गौरा विशेष गरेर प्राचीन डोटी राज्य (हाल सुदूरपश्चिम प्रदेश) र भारतको कुमाउँ–गढवाल लगायतका उत्तरपश्चिमी भेगमा परापूर्व कालदेखि नै मनाइँदै आएको पर्व हो ।

भाद्र शुक्ल पञ्चमीदेखि नै यसको विधिवत् शुरुआत हुन्छ भने अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा भित्राइसकेपछि विसर्जन नगरिएसम्म गौराघर तथा गौरा–खलो –आँगन र मैदान) मा स्थानीय पुरुष तथा महिलाहरू भेला हुन्छन् । उनीहरु छुट्टाछुट्टै समूह बनाएर स्थानीय लोक भाकामा देउडा, चैत, धमारी, ढुल्को लगायत खेल र नाच खेलेर आनन्द लिन्छन् ।

संस्कृति जगेर्ना र प्रसारहेतु काठमाडौँको टुँडिखेलमा अष्टमीका दिन केवल एक दिनभए पनि यो विशेष कार्यक्रम आयोजना गरिँदै आएको छ । तर सुदूरपश्चिमका जिल्लाहरुमा भने गौरा पर्व ५÷७ दिनसम्म धुमधामले मनाउने गरिन्छ ।