कार्कीको बयान सकियो, तीनैजना न्यायिक हिरासतमा

495
views

चितवन, ८, भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपीहरुको बयान रुकु भनिने अस्मिता कार्कीबाट शुरु भएको छ । जिल्ला अदालत चितवनमा उनीहरुको मुद्दा दर्ता भएसँगै बयान शुरु भएको हो । न्यायाधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान आइतवारबाट शुरु भएको हो ।

रावलको इजलाशमा आज अस्मिता कार्कीको बयान गराइएको छ । कार्कीले बयानमा पुडासैनीसँग आफू साथीको रुपमा रहेपनि आत्महत्या गर्ने कार्यमा भने उक्साहट नगरेको दाबी गरेकी छन् । उनले उक्त अभियोगवाट आफूले सफाइ पाउनुपर्ने माग गरेकी छन् ।

त्यस्तै बाँकी आरोपीहरु रवि लामिछाने र युवराज कँडेलको बयानसोमबार हुनेछ । सोमबार उनीहरुको बयानपछि थुनछेक बहश शुरु हुनेछ । सरकारी र आरोपी पक्षका कानुन व्यवासायीको दुईतर्फी बहसपछि आदेश गर्नेछ । अदालतको आदेशले उनलाई थुनामा पठाउने कि हिरासतमा राख्ने भन्ने बारे निर्णय गर्नेछ ।

आरोप पत्रमा उनीहरुलाई हदैसम्मको अर्थात् पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ । बयान चलिरहेकाले उनीहरुलाई न्यायिक हिरासतमा पठाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना विरुद्ध आजै आरोप पत्र दायर गरेको थियो । उक्त आरोपपत्रमा उनीहरुले पुडासैनीलाई आत्महत्या गर्न उक्साएको जिकिर गरिएको छ ।