नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान

1405
views

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रत्येक नेपालीको आम्दानी १०५ डलरले बढेर ८ सय ६२ पुगेको अनुमान गरेका हुन् । नेपाली रुपैयाँमा परिवर्तन गर्दा एक बर्षमा एक नेपालीको आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो । गत वर्ष प्रतिव्यक्ति आम्दानी ७ सय ५७ डलर थियो । त्यस्तै, चालु आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलब तीन सात र गैरकृषि क्षेत्रको योगदान ७० दशमलब छ तीन प्रतिशत रहेको अनुमान छ ।
कुल गार्हस्थमा राजस्वको योगदान पनि २२ दशमलब ३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । आर्थिक बृद्धिदरमा पनि सुधार देखिएको छ । गत बर्ष आर्थिक बृद्धि दरको लक्ष्य शून्य दशमलब सात सात प्रतिशत राखिए पनि शून्य दशमलव शून्य एक प्रतिशत मात्र भएको थियो । यसपाली भने ६ दशमलब नौ चार प्रतिशत पुग्ने सरकारी प्रक्षेपण छ ।
कृषि सुधार, अनुकुल मौसम, पूँजीगत खर्चमा सुधार, उर्जाको समुचित व्यवस्थापन, आपूर्ति पक्षमा आएको सुधारले आर्थिक बृद्धि दर उक्लिएको अर्थमन्त्रीको तर्क थियो ।
आठ महिनामा विद्युत् आपुर्ती १०५ दशमलब छ एक मेगावाटले बढेर ९ सय ६१ मेगावाट र कुल सडक बिस्तार २९ हजार १ सय ५३ किलोमिटर भएको सरकारी आंकडा छ ।
त्यस्तै, सन् २०१६ मा ४० प्रतिशतले पर्यटक आगमन बढेर ७ लाख ५३ हजार पुगेको छ । यता, कुल गार्हस्थ उत्पादनमा आन्तरिक बचत ६ दशमलब चार तीन प्रतिशतले वृद्धि भई १० दशमलब दुई पाँच प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात ४३ दशमलब सात आठ पुगेको छ । अघिल्लो आर्थिक बर्ष यो अनुपात ३९ दशमलब नौ थियो ।