गौहत्यारालाई कार्वाहीको माग राख्दै प्रर्दशन

670
views

जितेन्द्र थापा
सुर्खेत । सुर्खेतमा गौहत्या गर्नेलाई कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको छ । नेपालगञ्जबाट दैलेख पठाएका भनिएका गाई सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवा र सुब्बाकुनामा दुईदर्जन बढी गाईगोरु मरेको अवस्थामा भेटिएपछि कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको हो ।

सुर्खेतको मंगलगढी चौकबाट निकालिएको र्याली वीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांशले रातारात नेपालगञ्जका गाईगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरेका छन् ।

इलेक्ट्रोकोनी वस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिनको माग गरे । उनले घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन गर्न आग्रह गरे ।

कटकुवामा अलपत्र गाईगोरु नेपालगञ्ज फिर्ता

यसैबीच, सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवामा अलपत्र गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको छ । कटकुवामा जीवित एक सयबढी गाईगोरु नेपालगञ्ज पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पूर्णचन्द जोशीले जानकारी दिए । ‘शुक्रबार साँझ नै जीवित पशुचौपायलाई नेपालगञ्ज पठाइएको छ’ जोशीले भने, ‘बाँकी रहेका गाईगोरु पनि पठाउने तयारी भइरहेको छ।’

उनले गाईगोरु ल्याउने पाँच ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाले २९१ गाईगोरु दैलेख पठाउने भन्दै सुर्खेततिर पठाएको कागज भेटिएको थियो ।

दैलेख पठाइएका सयौँ गाईगोरु भीरबाट खसालेर मारेको भन्दै चौतर्फी आचालोचना भइरहेको छ । उता, सुर्खेतमा मरेका पशुचौपायका बारेमा दैलेखका तीनवटा स्थानीय तहले आफूहरूलाई यो विषयमा नेपालगंज उपमहानगरपालिकाले कुनैपनि समन्वय नगरेको बताए ।

दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दैलेखको श्रीस्थानमा नेपालगञ्जबाट पशुचौपाय पठाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘श्रीस्थान मन्दिरका पुजारी र महन्तलाई यो विषयमा बुझ्दा उहाँहरूले पनि आफूलाई जानकारी नभएको बताए । उनले भने ‘यो विषयमा नगरपालिकासँग कुनै समन्वय भएको छैन् ।’

यस्तै, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पनि यस विषयमा खबर पाएलगत्तै प्रहरी र प्रशासनलाई गाउँपालिकाको क्षेत्रमा पशुचौपायहरु ल्याउन नदिन आग्रह गरेको बताए । नारायण नगरपालिकाका रत्नबहादुर खड्काले रानीमत्ता चेक पोष्टमा प्रहरीसँगको भेटमा सुर्खेतको कटुवामा रहेका पशुचौपायलाई दैलेख प्रवेश गर्न नदिन भनेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले दैलेख क्षेत्रभित्र ती पशुचौपायलाई ल्याउन नदिन सम्बन्धित सीमा क्षेत्रमा आफूले जानकारी गराएको बताए । नेपालगञ्ज उपमहानगरपालिका र बाँके प्रशासनसँग यो विषयमा कुनै पनि सहकार्य नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललेको भनाइ छ ।

यसैबीच दैलेखको श्रीस्थान मन्दिर व्यवस्थापन समितिले नेपालगंज उपमहानगरमालिकाले श्रीस्थान क्षेत्रमा गाई पठाएको भनिए पनि श्रीस्थान मन्दिर व्यवस्थापन समिति र गाँउपालिका कसैलाई पनि आधिकारिक जानकारी नभएको स्पष्ट पारेको छ । साथै सामूहिक गौहत्या प्रति दुःख पनि प्रकट गरेको छ ।