सेनाले बुझायो बारा पर्सा हुरीपीडितका ८६९ घर

914
views

वीरगञ्ज, १९ भदौ । बारा र पर्सामा गत चैत्र १७ मा आएको विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले सरकारनिर्मित आवास पाएका छन् । नेपाली सेनाले निर्माण गरेको आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेको थियो । केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगञ्जमा आयोजित घर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलको सहभागिता रहेको थियो । पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताए ।

त्यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमीकमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाएका थिए । राउतले प्रधानमन्त्री ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकाङ्क्क्षाअनुरूप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले पु¥याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । उहाँले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरेका थिए ।

पाँच लाखमा घर निर्माण

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपियाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपियाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन् ।