चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, आर्थिक साझेदारी र विकास साझेदारीमा छलफल

481
views

काठमाडौँ, २२, भदौ । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आज आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

सह–सचिव कालीप्रसाद पोखरेलका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने बताइएको छ ।

नेपालको आर्थिक विकासमा चीनसँगको साझेदारीको आवश्यकताका विषयमा द्विपक्षीय छलफल केन्द्रित हुने छ । नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ । आर्थिक साझेदारी र विकास साझेदारी, रेलमार्गका विषयमा समेत छलफल हुनेछ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विकास साझेदार भएको मुलुकबाट नेपालले लिने फाईदा र यसबाहेक दुईपक्षीय हित, अन्तराष्ट्रिय चासोका विषयमा समेत छलफल हुनेछ ।