धरान उपनिर्वाचनः नेकपा हराउन कांग्रेस र साना दल

916
views

धरान, २५, भदौ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै सुनसरीको धरान उपमहानगरपालिकामा सत्तारुढ नेकपा हराउने कसरत भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चुनावी अभियानलाई तिव्रता दिदैं साना दलहरुको सर्मथनमा साझा उम्मेदवारी तयारी गरेको छ । उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवार चयन गर्न सकेका छैनन् तर, उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ लगेका छन् । जनतासमक्ष पार्टीका योजना प्रस्तुत गर्न थालेका छन् ।

०७४ असार २० गते सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगरको मेयरमा तत्कालीन एमालेका तारा सुब्बाले कांग्रेस उम्मेदवार तिलक राईलाई पराजित गरेका थिए । ०७५ साउन १ गते मेयर सुब्बा र धरान–७ का अध्यक्ष भुवन मोक्तानको निधन भएपछि धरान नेतृत्वविहीन छ । यो उपनिर्वाचनमा प्रमुख दल नेकपा र कांग्रेसले मात्र उम्मेदवारी दिने गरी चुनावी अभियान गरिरहेका छन् ।

नेकपालाई चुनाव जित्न माओवादी–एमाले एकताको भर र कांग्रेसलाई साना दलको समर्थनको आस छ । मेयरका लागि नेकपाबाट केन्द्रीय सदस्य किरणकुमार राई, प्रदेश सदस्यहरू विजय राई, मनोजकुमार मेन्याङ्बो, मुक्साहाङ मेन्याङ्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्यहरू प्रकाश राई र पदम लिम्बू आकांक्षी छन् । कांग्रेसबाट धरान नगर सभापति तिलक राई र जिल्ला सचिव सुजेन्द्र तामाङले आकांक्षा देखाएका छन् ।

तत्कालीन एमाले–माओवादी एकतापछि कांग्रेस अन्य साना दलसँग गठबन्धन गरी चुनावी मैदानमा उत्रने तयारी गरेको छ । कांग्रेसले तेस्रो ठूलो दल समाजवादी पार्टी नेपाल, संघीय लिम्बूवान पार्टी, राप्रपा र राजपासँग गठबन्धन गरी चुनावमा भाग लिने तयारी गरेको छ ।