रोजगारीका लागि मलेसिया जाने बाटो खुल्यो

480
views

काठमाडौँ, २७, भदौ । एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ । नेपाली श्रमिकले अब मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् ।

नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्विपक्षीय सम्झौताअनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी बिहीबार सहमति भएपछि रोजगारीको ढोका पुनः खुलेको छ । मलेसियामा तीन दिनसम्म दुई देशका प्राविधिक समितिबीच भएको बैठकले बिहीबार गरेको सहमतिले शून्य लागत र सामाजिक सुरक्षालाई निष्कर्षमा पु¥याएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको नेपाली टोलीले तीन दिनकोे छलफलपछि नेपाली श्रमिक लैजानेबारे दुई देशबीच सहमति जुटाउन सफल भएको हो ।

नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो ।

२०७५ साल जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियाली उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली गत सोमबार मलेसिया गएको थियो ।