सरुभक्तको “प्रतिगन्ध“ लोकार्पण

1398
views

सीताराम थापा । गण्डकी प्रदेश पोखरामा साहित्यकार सरुभक्तको सातौं उपन्यास प्रतिगन्ध’ को लोर्कापण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा आख्यानकार त्रय गनेश पौडेल, तीर्थ गुरुङ र सरस्वती प्रतीक्षाले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका हुन ।

पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा समावेश भएको लाहुरे संस्कृतिका विषयमा बोलेका थिए । उनले उपन्यासमा अमेरिकी लाहुरेहरुको कथा भएको सुनाए । संस्कृतिविहीन पुस्ताप्रतिको चिन्ता उपन्यासमा छ । विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई नेपालका लागि योगदान गर्न प्रेरणा दिने यो उपन्यास अन्तराष्ट्रिय कथा हो गुरुङले भने ।

आख्यानकार सरस्वती प्रतीक्षाले उपन्यासका पात्र अमरको भनाइ उद्धृत गर्दै अमरले आफू मात्र सोच्ने नभई पाठकलाई पनि सोच्न बाध्य पार्ने धारणा सुनाइन् । ‘नथिया’ उपन्यासकी उपन्यासकार तथा सरुभक्तकी छोरीका रूपमा समेत परिचित प्रतीक्षाले प्रतिगन्ध सुरुमा २ लाख शब्दको भएको रहस्य खुलाइन् । उनले त्यत्रो विशाल पाण्डुलिपि पढ्दा आफू झस्केको अनुभव समेत सुनाइन् । कृति अहिले करिब १ लाख शब्दको छ ।

एपिक उपन्यास लेख्ने धोको सरुभक्तले पूरा गरेको भन्दै प्रतीक्षाले भनिन्, ‘प्रतिगन्ध’ एउटा उपन्यास पढ्दा ४ र ५ वटा उपन्यास एकसाथ पढ्न पाइन्छ । यो रमाइलोका लागि पढिने किताब होइन, ऐठन र दुःखको कथा हो । उनले अझै अघि भनिन्, नेपाली समाजको महिला दृष्टिबाट हेर्दा यो एउटा एन्टिथेसिस हो, यसमा सहनशील पुरुष पात्र छन्, महिलाहरु चाहिँ कठोर छन् । उनले कृतिलाई प्रेम, घृणा, दर्शन र विचारहरुको सम्मिश्रणका रूपमा चित्रण गरिन् ।

पैताला झैं उपन्यासका लेखक गनेश पौडेलले सरुभक्तको शक्ति नै प्रयोगधर्मितामा अडिएको बताए । सरुभक्तका केही नाटकबाहेक सबै कृति पढेको दाबी गर्दै पौडेलले शिल्प, शैली र भाषामा जोखिम उठाएर आफ्ना अघिल्ला उपन्यासभन्दा फरक प्रयोगधर्मिता उपन्यासकारले प्रतिगन्धमा देखाएको धारणा राखे । प्रतिगन्धलाई वैश्विक उपन्यासको संज्ञा दिँदै कृतिमा जादुयी यथार्थवादलाई फरक ढङ्गले प्रस्तुत गरिएको पौडेलले बताए । कृतिमा पहिचानको भोकलाई बलियो ढङ्गले उठाइएको उनको भनाइ थियो । उनले सरुभक्तले यो ञकिताब दुस्साहसपूर्वक लेखेका समेत भने ।

उपन्यासकार सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको सुनाए । उनले यसका झण्डै एउटा सिङ्गो उपन्यास अर्थात् २५० पृष्ठ हटाएको बताए । प्रत्येक लेखक आफैं एक सम्पादक भएको बताउँदै उनले लेखकले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्नेमा जोड दिए ।

२०६१ मा तत्कालीन नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानबाट अमेरिका जाँदा २ महिना बस्दा देखेको नेपाली अवस्थाले उपन्यास लेख्न घच्घच्याएको सरुभक्तले सुनाए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति उनले कुलपति भएपछि काठमाडौंको ४ वर्षे बसाइँमा प्रतिगन्ध लेखेको जानकारी दिए । सरुभक्तका मित्र कवि तीर्थ श्रेष्ठले सरुभक्तलाई जहाँ, जस्तो अवस्थामा पनि लेखक भइरहने व्यक्तिका रूपमा चित्रण गरे । उनले सरुभक्त विविधतासँग खेल्ने स्वभावका र सदाबहार क्रियाशील लेखक भएको भनाइ राखे ।

प्रकाशक बुक हिलका भूपेन्द्र खड्काले पोखराले सधैं अब्बल कृति दिएको भन्दै सरुभक्तको प्रतिगन्धले नेपाली साहित्यलाई अझै उँचो बनाउने विश्वास व्यक्त गरे ।

पागल बस्ती उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तका यसअघि एक अविनवको आत्मकथा, समय, त्रासदी, तरुनी खेती, अँध्यारो कोठा र चुली गरी ६ उपन्यास प्रकाशित छन् । उनका नाटक, कवितालगायतका ४० भन्दा बढी कृति प्रकाशित छन् । उनी विगत ३ दशकभन्दा लामो समयदेखि पोखरामा रहेर साहित्य साधना गरिरहेका छन् ।
परिवारका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत र सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।