पाँचबर्षभित्र पाँच हजार वृद्धभत्ता पुर्याउँछौ : प्रम

59
views

काठमाडौँ, १४, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा मङ्गलबार शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता व्क्त गरेका हुन् ।

नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन हजार रुपियाँ पु¥याइएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताए ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा बढ्दै गएको र अहिले करिब ३० लाख पुगेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले भनेका छन्– आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहनसहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानुनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको र यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु भइसकेको प्रधानमन्त्रीको सन्देशमा जनाइएको छ ।

विसं २०७६ को प्रारम्भसँगै सरकारले ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको छ । यतिखेर झन्डै अढाइ लाख ज्येष्ठ नागरिक वार्षिक रूपमा एक लाख रुपियाँबराबरको तोकिएका सेवासुविधा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीको सन्देशमा चालू आर्थिक वर्ष्भित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिने जनाइएको छ ।