महरा चोख्याउने प्रयास नहोस् : नेता सिंह

702
views

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास जगाउन सरकारलाई सुझाव दिएका छन् ।

नेता सिंहले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेको सरकारले जनविश्वास गुमाइसकेकोले महरा प्रकरणबाट जनविश्वास आर्जन गर्ने अवसर गुमाउन नहुने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनुका साथै कानुन सबैका लागि समान छ भन्ने देखाउन सरकार, प्रहरी र प्रशासनले काम गर्नुपर्ने बताए ।

नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता कार्यकर्ता हुने ? यो हुनै सक्दैन भने ।’

नेता सिंहले अत्यधिक मूल्यवृद्धि, भ्रष्टाचार, मेलम्ची खानेपानी आयोजना प्रकरणलगायतले सरकार असफल भएको पुष्टि भइसकेको पनि दाबी गरे ।