बाटो खुलाउन न्यायिक समितिको अन्तरिम आदेश

1094
views

पोखरा, १६, असोज । पोखरा महानगरपालिका वडा नं २१ मा रहेको छुचीको गौँडा देखि जम्मुतारा हुँदै द्वार कस्यार घाटसम्म पुग्ने हालको बाटो विनाअवरोध यथावत राख्न न्यायिक ईजलासले अन्तरिम आदेश दिएको छ ।

सो विषयमा न्यायिक समितिमा परेको उजुरीमाथिको छलफलपछि पोखरा महानगरपालिकाको न्यायिक ईजलासले उक्त आदेश जारी गरेको हो । आदेश अनुसार आगामी कार्तिक २० गतेसम्मको समयावधिमा दुबै पक्ष मिलेर समस्याको समाधान गर्न आग्रह गरिएको छ । सकेसम्म मिलेर जानु नभए कार्तिक २० गते यस विषयमा पुनः सुनुवाईमा उपस्थित हुन उपमेयर समेत रहनुभएकी न्यायिक समितिका अध्यक्ष मञ्जुदेवी गुरुङको भनाई छ । बुधबारको ईजलासमा स्वाभिमान नेपालका कुशल बरालको नाममा जग्गा रहेको प्रमाण अपुग भएको र कस्को जग्गा कति भन्ने पनि यकिन नभएकाले अन्तरिम आदेश जारी गरिएको उनले बताईन् ।

बुधबार भएको छलफलमा दुबै पक्षका कुरा सुनिसकेपछि यस्तो आदेश जारी भएको हो । छलफलमा भाग लिँदै उजुरीकर्ताहरुले तत्कालिन गाविस र जिविसको लगानीमा बनेको बाटो अवरोध विनाप्रयोग गर्न पाउनुपर्ने माग राखेका थिए ।

जग्गादाताहरुले जग्गा उपलब्ध गराईसकेपछि बाटो सार्वजनिक नै भईसेकेको उनीहरुको दावी थियो । उजुरीकर्ता एवं द्वार टोल विकास संस्थाका अध्यक्ष बोधराज आचार्यले दोविल्लाको पुलतर्ने वित्तिकै प्रायः बाटोहरुको लगत कट्टा नभएको भन्दै लगत कट्टाकै नजिरमा मात्र बाटो रोक्ने काम हुन नहुने बताए । सो अवसरमा जग्गादाताहरुले समेत बाटोकै लागि जग्गादान गरेको भन्दै उक्त ठाउँमा बाटो कायम नै हुनुपर्ने माग गरेका थिए । स्थानीय प्रकाश पौडेलले जनताले निकासका लागि खुलाएको बाटोमा पहिलो अधिकार जनताकै हुने दावी प्रस्तुत गरे ।

विपक्षीको तर्फबाट स्वाभिमान नेपाल प्रालि का प्रतिनिधि हरि भण्डारीले जग्गाको नक्साका आधारमा खरिद गरेको तर स्थानीयलाई बाटो अवरोध गर्ने मनसाय नभएको बताए । यो निर्णय संगै पोखरा महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष खगराज आचार्य समेत नैतिक संकटमा परेका छन् ।

आवास रहेको ठाउँलाई समेत आवास नभएको जग्गाभनि वडा अध्यक्षले चार किल्लासिफारिस दिएको स्थानीय दाताराम आचार्यको दावी छ । उक्त जग्गामा एउटा घर समेत रहेकाले घर नभएको भनि सिफारिस दिने वडा अध्यक्ष नैतिक संकटमा परेको आचार्यले बताए ।

तत्कालिन जिल्ला विकास समिति, गाउँविकास समिति, स्थानीय जनचेतन माध्यमिक विद्यालय र जग्गादाताहरुको संयुक्त पहलमा २०५४ देखि उक्त बाटो सञ्चालनमा रहेको र स्थानीयले घाटसम्म शव लिएर जाने काममा समेत प्रयोग हुँदै आएको स्थानीय चक्रपाणी आचार्यले बताए । बाटो बन्द हुँदा घाटसम्म शव समेत पुर्याउन कठिन भएको उनको भनाई थियो ।

यसअघि गत असोज ९ गते स्थानीयहरुले बाटोमा अवरोध गर्न बनाईएको पर्खाल भत्काउनका साथै बाटो प्रवेशमा लगाईएको फलामको गेट फुटाई गेट नै हटाईदिएका थिए ।

७५ रोपनी क्षेत्रफल भएको उक्त जग्गा नेपाल स्वाभिमान प्रालि, अनिता सिंह र कुशल बरालले मनकामना केबलकार प्रालिका कृष्ण कुमार श्रेष्ठसंग खरिद गरेका हुन् । खरिद गरिएको जग्गा स्वाभिमान कम्पनीले भोगचलन गर्ने बताईएको छ ।