पर्वतका अनिश बने गोरखामा लिगलिगे राजा

951
views

गोरखा, १६, असोज । पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर गोरखामा चौथो पटक लिगलिगे राजा बनेका छन् । यसअघि तीनपटकसम्म लिगलिगे राज बनेका उनी चेपे र मस्याङदीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन् ।

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बने । लम्जुङका रामजी बस्नेत एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी तेस्रो बने । एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन् ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिने भएको छ ।

पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने भएको छ ।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छैठौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।