उत्तर कोरियाद्वारा समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

521
views

उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो ।

उक्त क्षेप्यास्त्र समुद्रमुनिबाट पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ । पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सार्मथ्य हुनु हो ।

दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो ।

यसको अर्थ सो क्षेप्यास्त्र अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो । तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

सो क्षेप्यास्त्र जापान सागरमा समुद्रमा खसेको थियो । यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुनस् परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो ।

बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो । उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ–३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो ।

यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ । यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ अनको तस्बिर भने सार्वजनिक भएको छैन । यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए ।

पनडुब्बी क्षेप्यास्त्रको अर्थ
यदि यो क्षेप्यास्त्र आकाशमा नभई जमिनतर्फ परीक्षण गरिएको भए यसले १,९०० किलोमिटर यात्रा गर्ने थियो । अर्थात् उक्त क्षेप्यास्त्र दक्षिण कोरिया र जापानको जुनसुकै भागमा पनि पुग्न सक्थ्यो ।

तर पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र समुद्रको जुनसुकै भागबाट पनि प्रयोग गर्न सकिन्छ र यसलाई पत्ता लगाउन पनि कठिन हुन्छ ।

रोएटर्स समाचारसंस्थाका अनुसार सन् १९९० को दशकमा बनाइएका उत्तर कोरियाका पनडुब्बीहरू ७,००० किलोमिटर यात्रा गर्न सक्ने क्षमताका छन् । ती अमेरिकाको हवाई राज्यसम्म पुग्न सक्छन् । डिजेलले चल्ने भएकाले ती पनडुब्बीले बढी आवाज निकाल्छन् ।

उत्तर कोरिया–अमेरिका वार्ताको सम्भावना

यो परीक्षणअगाडि अमेरिका र उत्तर कोरियाले पारमाणविक वार्ता यो साता नै सुरु हुने बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले परीक्षणपछि उत्तर कोरियालाई आक्रामक नहुन र ठोस एवम् दीर्घकालीन वार्ताका लागि कदम चाल्न भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबीच हेनोईमा भएको भेटघाटपछि वार्ता अवरुद्ध भएको छ । बीबीसी