दशैँ छुट्टीमा पनि आपत्कालीन सेवा

1491
views

काठमाडौं । दशैँको छुट्टीमा पनि आपत्कालीन सेवा, निशुल्क हटलाईन र रेडियो कार्यक्रम निरन्तर हुने ।
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेका विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने व्यवस्था मिलाएको छ ।

दशैंको समयमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहेको जनाइएको छ । स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं रहेका छन ।

यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको रेडक्रसले जनाएको छ । दशैँ छुट्टीमा सामान्यतया यो स्टक पर्याप्त रहेको छ ।

शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने नेपाल रेडक्रस सोसाइटीका निर्देशक सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको पौडेलले बताए ।

त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुनेछन् ।