महराको सांस्कृतिक विचलन: बाबुरामको खुलापत्र

946
views

डा. बाबुराम भट्टराई
प्रिय महराजी,
असोज, १८ गते । हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु । यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।

१. माओवादी नेतृत्व तहमा हामी ( विशेषत प्रचण्ड र म ) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं । हामी वीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं । प्रचण्ड र मेरो वीचमा २०५५/५६ मा पहिलो ठुलो वैचारिक–सांगठनिक वहस हुँदा २०५६ साउन र भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुईजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं । (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो) पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो । २०७१ सालमा बोगटीजीको दुःखद निधन र पार्टीको क्रमशः ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस–एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए । तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक, राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ ।

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन ।अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला । हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो । यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन कि त त्यो अघि बढाइनुरबढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ । त्यस्तै अर्को भनाई छ । शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ । अझै अर्को भनाइ छ ‘क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रतिक्रान्तिकारीमा बदलिन्छन् ।’

यहींनेर हामी चुक्यौं । मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ । तर मैले साथीहरूलाई मनाउन सकिनँ । साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन । त्यसैले अब क्रमशः साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ । तपाईं (महराजी ) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो !

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ । सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ । तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ । हामीले कृतिमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं । त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ ।

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छुः
‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना ।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता ।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास् ।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम् ।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन ।अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहिँ पुरूष पनि उत्पीडन वा प्रतिशोध र षड्यन्त्रको जालमा पर्नसक्छ । तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ । त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ ।

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ।भनिन्छ–गल्ती गर्नु अपराध हैन । गल्ती नसच्याउनु अपराध हो ।

तपाईंको शुभेच्छुक,
बाबुराम