चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

597
views

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सके लगत्रै नेपाल आउन लागेका हुन् ।

सीले दुईपक्षीयबाहेक बहुपक्षीय र क्षेत्रीय विषयमा मोमल्लीपुरम र काठमाडौंमा छलफल गर्नेछन् । नेपालमा हुने भेटमा उनले त्रिदेशीय सहकार्यको विषयमा पनि जोड दिने बताइएको छ । त्यो विषयमा नेपालले पनि आफूलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

सार्कका प्रभावशाली नेताको रूपमा रहेका नरेन्द्र मोदीसँग मोमल्लीपुर उहान–२ मा वार्ता गरी उनी सार्क अध्यक्षसमेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

सीको विचारधारामा चीन अघि बढिरहेको छ। माओ र तङ स्याओ पिङ पछि अर्का प्रमुख नेताको रूपमा दरिएका सीले विश्व नेतृत्वको महत्वकांक्षा प्रस्तुत गरिरहेका छन् ।

एकदिने भ्रमणको तयारीमा रहेका सी नेपालको आग्रहलाई स्वीकार गर्दै दुईदिने बनाएका छन । नेपाल चीनको विवादरहित छिमेक हो । नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो ।

भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ । सम्झौता तथा सहमतिको खाका नेपालले तय गरिसकेको छ ।

सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन्। सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने आशामा छन् ।

सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ । भ्रमणको एजेन्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ ।

केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयमा जोड दिइने भएको छ। यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ। अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ । भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

सी को स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुग्नेछन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइने कार्यक्रम रहेकाले मन्त्रिमण्डलका सदस्य तथा संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका अधिकारी त्यहाँ पुग्नेछन् । गार्ड अप अनर सकिएपछि उनी सिधै होटल सोल्टी जानेछन् ।

उनको भ्रमणको सुरक्षाका लागि पाँच सय बढी चिनियाँ सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको छ ।