केरुङ–काठमाडौं रेलमार्ग हेर्न चाहेका छौं : राष्ट्रपति

387
views

काठमाडौंं, २६, असोज । चिनियाँ राष्ट्रपति सी जीनपिङको स्वागतमा शनिबार आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् ।

राष्ट्रपतिले नेपाल–चीन हिमालय सीमापार ‘कनेक्टिभिटी’ विकासका लागि पूर्वाधार सुधार गर्नुपर्नेमा जोड दिदैं त्यसमा चिनियाँ सहयोगको अपेक्षा गरिएको बताईन् । रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।

पञ्चशीलमा आधारित दुई देशवीचको सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको पनि भण्डारीले उल्लेख गरिन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा रहेको पनि सम्बोधनका क्रममा उनले बताइन् । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पनि राष्ट्रपतिले दोहार्याईन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गरिन् ।