मनोमानी भाडा लिने ट्याक्सी चालकलाई कार्वाही

503
views

पोखरा, २८, असोज । मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी ट्याक्सी चलाउने पोखराका ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीको भनाई छ ।

दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो । यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको अधिकारीले जानकारी दिए ।