कृषिमन्त्रीले रोपेको धानखेत यसरी बाँझियो

718
views

कपिलवस्तु आयोजकले संरक्षणमा चासो नदिँदा गत आषाढ १६ गते कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल (बलदेव) आफैले जोतेर रोपेको धानखेत बाँझो हुन पुगेको छ । २६ सय वर्षअघिको झल्को दिने गरी बुद्धस्थल तिलौराकोटको पुर्वीद्वारनजिकको खेतमा आयोजना गरिएको दोस्रो धान रोपाईं मंगलोत्सवका अवसरमा मन्त्री खनालले रोपेको खेतमा लगाइएको बाली संरक्षण नगरिएपछि अहिले खेत बाँझो भएको हो । लुम्बिनी विकास कोषको आयोजनामा पुरातत्व विभागद्वारा अधिकरण गरिएको तीन कठ्ठा जग्गाको क्षेत्रफलमा मन्त्री खनालले सुनको जस्तो देखिने हलोले जोतेर धान रोपाईं गरेका थिए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर(३ को शिवगढमा कालानमक धानको बिउ एक महिनाको तयार गरी खेतमा बाणंगगा सिचाइँ प्रणालीको नहरबाट १२ घण्टा बढि पम्पसेट चलाई पानीको प्रबन्ध गरेर धान रोपाईं सम्पन्न भएको थियो ।

बाजागाजाका साथ गरिएको धान रोपाई मंगलोत्सवमा मन्त्रीसँगै लुम्बिनी विकास कोषका पदाधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रदेशसभाका सदस्य र स्थानीय नेता कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाललाई धानमा ५ वर्ष्भित्रमा धानमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए ।

दोस्रो धान रोपाई मंगल उत्सव आयोजना गर्न आयोजक लुम्बिनी विकास कोषले ४ लाख बढि खर्च गरेको खुल्न आएको छ । उत्सवका अवसरमा मञ्च व्यवस्थापनसँगै तामझामले मन्त्री बोलाएर रोपिएको कालानमकको धानबाली संरक्षणमा कोषले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । कोष मात्रै होइन, नगरमा छाडा चौपाया व्यवस्थापनको प्रमुख जिम्मेवार निकायको रुपमा रहेको कपिलवस्तु नगरपालिकाले छाडा चौपाया नियन्त्रणमा ध्यान नदिँदा मन्त्रीले रोपेको धानबाली छाडा चौपायाले चरेर सखाप पारेका हुन् । छाडा चौपाया मात्रै होइन, रोपाईं आयोजकले रोपिएको धानबालीमा सिचाइँ र मलखादको लागि समेत केहीनगरेको स्थानीय बताउँछन् ।

एक महिनाअघि नै खेतको धानबाली छाडा चौपायाले चरेर सिद्धाएको कपिलवस्तु नगरपालिका ६ तिलौराका गुरुप्रसाद चाईले बताए । मन्त्रीले धान रोप्दा आफू पनि आएको बताउँदै कसैले संरक्षणमा चासो नदिँदा छाडा चौपायाले धान सखाप पारेको उनले बताए ।

उनी जस्तै सोही स्थानका अर्का वासिन्दा मोहम्मद सरिफले धानखेतको सुरक्षा र सिचाइँमा समेत कसैको ध्यान नपुगेको बताए । मन्त्रीले धान रोपेको खेततर्फ देखाउँदै उनले धान रोपे नरोपेको छुट्टिनै नसक्ने गरी छाडा चौपायाले तीन कठ्ठाकै धानबाली सिद्धाएको बताए ।

धान रोपाइँ गराउने आयोजकले मन्त्रीलाई ल्याएर रोपाईं सकेपछि तारबार गरेर भए पनि धानबालीको सुरक्षा गर्नुपर्ने उनको तर्क छ । कृषिप्रधान देशमा लाखौं खर्च गरेर देशकै कृषिमन्त्रीलाई तामझामका साथ धान रोपाएर फलाउन नसक्ने लुम्बिनी विकास कोष, कृषिको समृद्धिको नारा दिने मन्त्री र संरक्षणमा भूमिका खेल्न नसक्ने स्थानीय तह देखेर यहाँका स्थानीयवासी छक्क परेका छन् । सो विषयमा प्रतिक्रिया माग्दा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यले धानखेतको संरक्षणबारे कोषमा पटक पटक जानकारी गराए पनि संरक्षणका लागि मानवीय र आर्थिक व्यवस्थापनमा कुनै निर्देशन नआएकाले धान खेतको संरक्षण गर्न समस्या परेको स्वीकार गरे । घटना र विचारबाट