जिउँदै छात्रा जलाउने १६ जनालाई मृत्युदण्ड

675
views

बंगलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरूलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिलमा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।

नुसरतले एक शिक्षकले आफूलाई यौन दुव्र्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि उनको जलाएर हत्या गरिएको बताइएको छ ।

‘यस फैसलाले बंगलादेशमा हत्याबाट कोही पनि उम्कन सक्दैन भन्ने प्रमाणित गर्दछ,’ न्यायाधीश हाफिज अहमदले भने, ‘हाम्रो देशमा कानुनको शासन छ ।’

सो हत्यामा प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बंलादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृंखलाबद्ध रूपमा प्रदर्शन भइरहेका थिए ।

यस्ता खालका मुद्दाको टुंगो लाग्न वर्षौं लाग्ने गरेको बंलादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ । न्यायाधीश अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बंगलादेशमा हत्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताएका छन् ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चार–पाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए ।

उजुरी फिर्ता लिन अस्वीकार गरेपछि उनलाई जीवितै जलाइएको थियो । उनले आत्महत्या गरेकोजस्तो देखाउन खोजिएको भए पनि पछि हत्या प्रमाणित भएको छ । प्रहरीले उनको उद्धार गरेको र उनले घटनाको विषयमा दिएको बयान उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए ।

बयानको क्रममा नै नुसरतले केही आक्रमणकारीको नाम बताएकी थिइन् । शिक्षकले आफूलाई छोएको, सो अपराधविरुद्ध सास रहुञ्जेलसम्म लडिरहने बताएकी थिइन् । शरीरका ८० प्रतिशत भाग जलेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो ।