कालापानी–लिपुलेक’ भारतकै नक्सामा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विरोध

1161
views

काठमाडौं, २०, कार्तिक । सन् १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको भारत सरकारले शनिबार जारी गरेको नयाँ नक्सामा पनि सो भूमि गाभिएको छ । नेपालको लिम्पियाधुरादेखी लिपुलेकसम्मको कालापानी क्षेत्रमा पर्ने भूभागलाई गाभेको भन्दै नेकपा(क्रान्तिकारी माओवादी) ले भारत सकारले गरेको अतिक्रमणको विरोध गरेका छन् ।

सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले आज एक प्रेस वक्तव्य जारी गर्दै आम जनसमुदायलाई अपिल गरेका छन ‘नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौकिता र नेपाली भुभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो ।’ वैद्यले नेपाली भु–भागमाथि गरिएको नाङ्गो अतिक्रमण एवं हस्तक्षेपको विषयमा सत्य तथ्य वाहिर ल्याई भारतको कडा विरोध गर्न नेपाल सरकारलाई अनुरोध समेत गरेका छन ।

क्रान्तिकारी माओवादीले एकवर्षअघि नै नेपालको प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र सरकारी कार्यालयमा ‘कालापानी क्षेत्र’ गायब पारिएको नक्कली नक्सा प्रयोग भएको पाइएपछि त्यसको चौतर्फी विरोध एवं ध्यानाकर्षण गराउँदै आएको थियो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा अवस्थित कालापानी क्षेत्रलाई भारतीय भूभागको रुपमा समावेश गरिएको छ । भारत सरकारको यो हस्तक्षेपकारी कदमको चौतर्फी रुपमा विरोध गर्नुपर्ने सो पार्टीले आम जनसमुदायसँग अपिल गरेको छ ।

यसअघि भारत र चीनबीच सन् २०१४ लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने विषयमा भएको सहमतिको पनि नेपालले विरोध गरेको थियो । नेपालले सन् १८१६ मा भएको सुगौधी सन्धि विपरीत भन्दै आपत्ति जनाएको थियो ।

नयाँ नक्सा भारतले सार्वजनिक गरेपछि नेपाल सरकार बोलेको छैन । प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेकपाका सांसद् भीम रावलले यसबारे धारणा बनाउन सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् । नेपालको परराष्ट्र मन्त्रालयले भने यस बिषयमा “बुझ्ने काम भइरहेको” बताएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालले गलत नक्सालाई आधार मान्दा सुस्तामा १४५ वर्गकिलोमिटर र कालापानी क्षेत्रमा ३७० वर्गकिलोमिटर भू–भाग नेपालको नक्साबाट गायब हुन पुगेको छ ।

नवलपरासीको सुस्तामा सुगौली सन्धि भएको बेलाको नारायणी नदीलाई आधार मानेर सीमा विवाद सुल्झाउनुपर्ने नेपालको माग भए पनि भारतीय पक्ष भने अहिलेकै नदीलाई आधार मान्नुपर्ने बताउँदै आएको छ । नारायणी नदी नेपाल र भारतबीच झण्डै २४ किलोमिटर दूरीमा सीमाको काम गरेको छ ।

त्यस्तै ५ हजार ५ सय ३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दुका रुपमा रहेको बताइन्छ, जुन लिपुलेकभन्दा अझै पश्चिम–उत्तरमा पर्छ । सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ । सिमाविद् श्रेष्ठका अनुसार सन् १८६० भन्दा अघिका सम्पूर्ण नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको काली भनेर लेखिएको छ । त्यसपछिका नक्साहरूमा चाहिँ त्यो काली नदीलाई कुटी याङ्ग्दी भन्नेमा बदलेर लिपुलेक भञ्ज्याङ्गबाट निस्किएको नदीलाई चाहि काली भनेर लेखेको पाइएको छ ।

अर्को भारतीय नक्साहरूमा चाहिँ यी दुवैलाई हटाएर टिकंर भञ्ज्याङ्ग नजिकै पंखागाड खोला नजिकको कालीको मन्दिरबाट निस्किएको नदीलाई काली भनिएको छ । अमेरिका र ब्रिटेनका केही पुराना पुस्तकालयमा पुराना नक्साहरू रहेका र तीनलाई आधार मानेर अध्ययन हुने हो भने यी विवादलाई ‘नेपालको पक्षमा’ हुने गरी विवाद सुल्झाउन सकिन्छ ।

सुगौली सन्धिमा लिम्पियाधुरा समेत नेपालको नक्सामा रहेको छ । नेपालकै आधिकारिक नक्सामा भने लिम्पियाधुरा समेटिएको छैन । भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ ।