रिम्ना–दल्ली सडकखण्डको स्तरउन्नति हुन्छ–बस्नेत

416
views

जितेन्द्र थापा
सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोर अन्तरर्गत रिम्ना देखी दल्ली सम्मको सडकखण्डको यसै आर्थिक वर्षमा स्तरउन्नतिको काम हुँने बताउनुभएको छ । जिल्ला समन्वय समितिको जाजरकोटको समीक्षा बैठकमा बोल्दै मन्त्री बस्नेतले पूर्वाधार निर्माण नै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरउन्नति यसै आर्थिक वर्षबाट सुरु हुने बताउनुभयो ।

वातावरणीय प्रभाव मूल्यांकनको काम करिब करिब सकिएकोले सडकको स्तरउन्नतीको काम सुरु हुने उहाको भनाइ छ । पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने उहाको भनाइ छ ।

लुम्बिनी रारा सडकखण्ड अन्तरर्गत जाजरकोट खण्डको खलंगा पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरि काम गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिल्लाका अधिकांश ठाउँमा कच्ची सडक खन्ने काम भइरहेकाले कम्तिमा पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्रे हुने उनको भनाई छ ।

सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र गाउँमा उत्पादित वस्तुहरू बजारसम्म पुग्ने भन्दै उनले अर्थ उर्पाजनको मूल आधार त्यहीबाट सुरु हुने बताउनुभयो । सडकलाई प्राथमिकतामा राखेर काम गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको उहाले बताउनुभयो ।

जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथता बताउँदै उहाले नागरिक सचेत भएर खबरदारी लागि आग्रह समेत गर्नुभयो । जाजरकोट जिल्लाका ३ ठाउँमा विद्युत प्रशारणका लागि सब स्टेशन निर्माण गर्न लागिएको पनि उहाँको भनाई छ ।