सडक सञ्जाल छैन, हवाई उडान बन्द

919
views

हुम्ला । हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ ।

तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।

सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एयरलाइन्सले नियमानुसार हप्ताको एक उडान भरिरहेका बताउनुभयो ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ ।