एक सय आठ मेगापिक्सल क्षमता क्यामेराको मोबाइल

604
views

चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ । उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो ’फिचर’ राखिसकेको छैन । चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले “अत्यधिक मात्रामा स्पष्ट तस्बिर“ कैद गर्ने क्षमता राख्छ ।

तर एउटा परीक्षणले भने उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरू समावेश हुने देखाएको छ । एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ ।

तर शाउमीले उक्त प्रविधि बुधवार सार्वजनिक गरिने एमआइ नोट १० मा समावेश गर्ने बताएको छ ।अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो ।

युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ । हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ । तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ । बीबीसी