बालविवाह रोक्न पुरोहितलाई प्रशिक्षण

1710
views

सुर्खेत, २१, कार्तिक । कर्णाली प्रदेशमा बालविवाह रोक्न प्रदेश प्रहरी कार्यालयले पुरोहितलाई प्रशिक्षण दिएको छ । प्रहरीले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लाका पुरोहितहरुलाई कानूनी प्रशिक्षण दिएको हो । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनी रुपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए ।

विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरूकै भन्दै अभिभावक र बालबालिका तयार भएपनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन नसक्ने पनि बताए ।

चालू आर्थिक वर्ष २०७६/७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएपछि कर्णली प्रदेशमा प्रदेश प्रहरी कार्यालय, सुर्खेतले यो अभ्यास गरेको हो । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा ७ र ७, सल्यानमा ३ र जुम्लामा २ गरी १९ मुद्दा दर्ता भएको थियो । प्रहरीले चालू आर्थिक वर्षको हालसम्मको अवधीमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष ५९ जोडीको उद्दार गरेको थियो ।

प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै पाँच सय जना हिन्दु, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा सुर्खेतमा १ सय, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१,सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुम पश्चिममा २३ जना पुरोहित सहभागी थिए । सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेद लगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानूनी व्यवस्थाको पालना गर्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताए ।