निर्वाचन आयोगमा कास्की कांग्रेसको अर्को उजुरी

531
views

पोखरा, ८, मंसिर । नेपाली कांग्रेस कास्कीले निर्वाचन उल्लंघनका कार्य भएको भन्दै निर्वाचन आयोगमा अर्को उजुरी दिएको छ । केही दिन अघि पोखरा–१५ मा जनप्रतिनिधिले नै कम्वल वितरण गरेको भन्दै उजुरी दिएको कांग्रेसले शनिबार पुनः अर्को उजुर दिएको हो । उजुरीमा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रीलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी पाइप विछ्याउने कार्य गरेको उल्लेख छ ।

सो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विपरित भएको कांग्रेसको दावी छ । नियमानुसार वडाध्यक्ष अधिकारीलाई कार्वाहीको माग समेत कांग्रेसले गरेको छ । आयोगमा उक्त उजुरी उपनिर्वाचन मूल प्रचारप्रसार समिति कास्की क्षेत्र नं. २ का संयोजक देवेन्द्र रानाभाटले दर्ता गराएका हुन् ।

अबको कमाण्ड शर्माले सम्हाल्ने
नेपाली कांग्रेसका केन्द्रीय नेताहरू पोखराको चुनाव प्रचार र सभा सकेर बाग्लुङतर्फ लागेका छन् । केही नेता शनिबार र केही नेता आइतबार बिहान बाग्लुङ पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, गगन थापा लगायतले पोखराको चुनावी माहोल राम्रैसंग तताए । सोमबारदेखि पोखराको चुनावीसभा पार्टी प्रवक्ता र डा. मिनेन्द्र रिजाल लगायतका नेताहरूले सम्हाल्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार प्रवक्ता शर्मा सोमबार बिहान पोखरा आउने कार्यक्रम छ । उनी दिउँसो १२ बजे पोखरा–११ र ३ बजे पोखरा–१७ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ । यस्तै, मंगलबार नेता शर्माले बिहान पोखरा–८, दिउसो पोखरा–२० र २१ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ । यसैगरी बुधबार २१ र ३३ को चुनावीसभालाई नेता शर्माले संवोधन गर्ने कार्यक्रम तय भएको पार्टी सभापति केसीले बताए ।

कांग्रेसमा प्रवेश गर्नेको लर्को
शनिबार पोखरा–१६ मा आयोजित चुनावीसभामा पूराना वामपंथी नेता माधव प्रसाद पराजुली नेपाली कांग्रेमा प्रवेश गरे । कम्युनिष्टले राष्ट्र र जनतालाई पटकपटक धोका दिएको भन्दै कांग्रेस प्रवेश गरेका पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद नै अहिलेको उत्तम सिद्धान्त भएको बताए ।

उनलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा लगायतले स्वागत गरे । सोही सभामा ईन्द्रमान सिलवाल, सरु थापा निर्मला थापा पनि नेकपा छाडेर कांग्रेसमा प्रवेश गरे । यसैगरी आइतबार पोखरा २१ मा पनि मोती प्रसाद आचार्य, कृष्णबहादुर परियार, लेखबहादुर नेपाली वत्ति कुँवर, मञ्जु विक पनि नेकपा छाडेर कांग्रेसमा प्रवेश गरे । उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल लगायतले पार्टी प्रवेश गराएका थिए ।

पोखरा–२१ को दुवारे, निर्मलपोखरी, मैदान, ठूलीस्वाँरा, शिवालयमा आयोजित चुनावी कोणसभामा नेता धनराज गुरुङ, देवराज चालिसे, उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल लगायतले संवोधन गरेका थिए ।