पर्वतका दुई सहकारीको जालसाजी धन्दा, के गर्दैछ सम्बन्धित निकाय ?

3006
views

पर्वत । कुश्मा नगरपालिका वडा नं ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीबाट ऋण लिईन् । आफै शेयर सदस्य रहेको कुश्मा–६ स्थित सदाबहार विश्वास कृषि सहकारी संस्था लि.बाट २० लाख र ऋणी सदस्य रहेकी कुश्मा–५ स्थित सिताराम कृषि सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिईन् ।

२०७३ साल ६ महिना १८ गते सदरमुकाममा रहेको २२९६ नं कित्ताको घडेरी जग्गा धितो राखि लिएको २० लाख रुपैयाँको साँवा व्याज तिर्दै आएकी विश्वकर्मालाई सहकारीले ऋण तिर्न मानसिक दबाब दिदैं आयो ।

सहकारीबाट जग्गा धितो राखी २० लाख ऋण लिंएकी विश्वकर्माले ऋण लिंदा सही छाप लगाएको तमसुक, त्यसपछि बारम्बार थप भएका तर नच्यातिएका तमसुक र सहकारीलाई दिएको ब्लैंक चेकले अहिले उठीबास लगाएको ऋणी कल्पना विश्वकर्माले बताईन् ।

यता १० लाख ऋण उपलब्ध गराएको सिताराम सहकारीले पनि सोच्दै नसोचेको जालसाजपूर्ण कार्य गरेको ऋणी कल्पना विश्वकर्माको गुनासो छ ।

सिताराम कृषि सहकारी संस्थाले पनि संस्थामा सहीछाप लगाएको दुईवटा तमसुकको दुरुपयोग गर्दै एउटा व्यक्ति र अर्को सहकारीका नाममा तमसुक बनाएर ११ लाख ऋण तिर्न मानसिक दबाब दिएको विश्वकर्माको भनाई छ ।

ऋण लिंदा संस्थाको नियम भन्दै बजारी तमसुकका दुईवटा लिफामा सही छाप लगाएको र ऋण तिर्दा एउटै ऋण दुईवटा साहु बनेर आएपछि झनै पीडित बनेकी छु विश्वकर्माले भनिन् ‘सिताराम कृषि सहकारी संस्थाबाट १० लाख ऋण लिंदा ब्लैंक चेक समेत दिएकीले झनै अप्ठ्यारोमा परेकी छु ।’

विश्वकर्माले ऋण लिंदाका बखत दुवै सहकारीलाई ब्लैंक चेक दिएको र उक्त ब्लैंक चेकको आडमा फर्जि ऋण बनाईदिने भन्दै धम्की समेत आएको बताईन् ।

सहकारीबाट लिएको ऋणको चर्को व्याज र हर्जनाले सडकमा पुगेकी ऋणी कल्पना विश्वकर्माले अहिले सदाबहार विश्वास कृषि सहकारी संस्था लि.लाई २७ लाख र सिताराम कृषि सहकारी संस्थालाई ११ लाख बढी रकम तिुर्नपरेको छ ।

सदावहार विश्वास कृषि सहकारीको ऋण लिंदा धितो राखेको जग्गा सोही सहकारीले ग्राहक खोजी बिक्री गरिदिएको र सहकारीलाई तिर्नुपर्ने सबै रकम ग्राहकले तिरिदिंदा पनि ऋणीले नबुझाएको भन्दै मुद्दा मामिलामा लागेको विश्वकर्माले बताईन् ।

सहकारी मार्फत बनाइएका जालसाजपूर्ण ऋणले आक्रान्त बनेकी विश्वकर्माले सहीछाप लगाएका तमसुकहरु पछि च्यातौला, नष्ट गरौंला भन्दै आलटाल गरी अहिले ति नै तमसुक र ब्लैंक चेकको दुरुपयोग गरी सहकारी संस्थालाई नै बदनामी गर्ने कार्य सहित ऋणीलाई टाट पल्ट्याउने धन्दामा लागेको भन्दै आँशु झारिन् ।

उनले पर्वतका यि दुई सहकारीले गरेका ऋणी टाट पल्टाउने जालसाजपूर्ण कार्यको छानविन गर्न सहकारी डिभिजन कार्यालय लगायत सम्बन्धित निकायलाई समेत सञ्चार माध्यममार्फत ध्यानाकर्षण गराएकी छिन ।