मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा छ : केसी

562
views

पोखरा, ११, मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको खेमराज पौडेल र कम्युनिष्ट विचको लडाइँ नभएर चुनाव सदाचार र विविचार, न्याय र अन्याय, स्वतन्त्रता र निरंकुशता बीचको लडाइँ भएको बताएका छन् ।

पोखरा–२०, भलाममा आयोजित चुनावीसभामा नेता केसीले अहिलेको राजनीतिक परिस्थितिलाई विष्लेषण, संस्लेषण र विहंगम विचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए ।

उम्मेदवार पौडेल लोकतन्त्रप्रतिको निष्ठा, त्याग र समर्पणबाट विभूषित व्यक्तित्व भएकाले उहाँले यो चुनाव जित्न आवश्यक भएको भन्दै उम्मेदवार पौडेल जत्तिका पाका नेता अन्य कोही हुन नसक्ने बताए ।

मुलुकको समस्यालाई समाधान गर्न सक्ने पार्टी नेपाली कांग्रेसमात्र भएको भन्दै उनले कांग्रेसले जनता सामू गरेका वाचा सधैं पूरा गरेको स्पष्ट पारे । नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति भन्दा बाहिर कहिल्यै नगएको दावी गर्दै अहिले मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा रहेको उनले बताए । । ‘भ्रष्ट्राचार सुन्न सक्दिन भनेर भाषण गर्ने प्रधानमन्त्रीलाई भ्रष्ट्राचारलेनै घेरेको छ’, उनले आरोप लगाए ।

सत्य, सदाचार, न्याय, स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिनुपर्ने अवस्था आएकाले यो चुनाव कांग्रेसले जित्नुपर्ने खाँचो औंल्याए सत्य, सदाचार, न्याय र लोकतन्त्रको सुरक्षाको वातावरण सिर्जना गर्न यसपटक कांगे्रसलाई मतप्रदान गर्न कास्की २ का आम नागरिकलाई उनको आग्रह छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले ओली सरकार लिक भन्दा बाहिर गएकाले सरकारलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन पनि खेमराज पौडेलले चुनाव जित्नुपर्ने खाँचो औंल्याए ।

कांंगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको बताए । ‘सपना ठिक्क हुनुपर्छ’, उनले भने, ‘सक्ने सपनामात्र पूरा हुन्छ नसक्ने होइन ।’ उनले खेमराज पौडेल भोलि चुनाव जितेर गएपछि संसदमा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए ।

उनले काँग्रेस जिते पनि हारे पनि जेठो थियो, जेठो हो र जेठो रहने बताए । घरमा एउटा जेठो छोरोको दायित्व जस्तो हुन्छ त्यस्तै हो सरकार बनाउनमा नेपाली कांगे्रसको दायित्व, यो सबैलाई बुझ्न उनले आग्रह गरे ।

सरकारलाई ढंग पु¥याएर काम गर है भन्न कास्की–२ को उपचुनावमा खेमराज पौडेलले जिताउनैपर्ने उनको धारणा थियो ।
उम्मेदवार खेमराज पौडेलले जनताको अपेक्षा माथि ठोस पुग्न नदिने बताए । पौडेलले अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताए ।

३ पटकसम्म नेकपाले यो क्षेत्रमा जितेर के गरे ? भलामका जनताले मूल्याङ्कन गर्नुपर्ने दिन भएको उनले उल्लेख गरे । आफ्नो उम्मेद्वारी कुनै व्यक्ति, पार्टी वा उम्मेदवार सँग नभएर भ्रष्ट्राचार विरुद्ध रहेको पौडेलले बताए । निर्वाचनबाटै बनेको सरकारले २१ महिनामा गरेको कामको मूल्याङ्कनका आधारमा कास्की २ का मतदातालाई मत प्रदान गर्न उनले आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्व सांसद शारदा पौडले, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमाण्डर विन्दुकुमार थापा, नेता शुक्रराज शर्मा लगायतले बोलेका थिए ।

उक्त अवसरमा नेकपाका साथै विभिन्न पार्टी परित्याग गरी गौरी अधिकारी, गणेश खत्री, वसन्तबहादुर खत्री, मंगली गौतम, चिरञ्जीवि अधिकारी लगायत २ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।