मर्यादित महिनावारी दिवस मनाईने

1768
views

सीताराम थापा
बाग्लुङ, १२, मंसिर । नेपालमा पहिलो पटक ‘मर्याति महिनावारी’ दिवस मनाइने भएको छ । यही डिसेम्बर ८ को दिनलाई ‘मर्यादित महिनावारी’ दिवसको रुपमा मनाउन लागिएको हो । नेपालकै राधा पौडेल फाउण्डेसनको पहलमा विश्वमै पहिलो पटक यो दिवस मनाउन लागिएको हो ।

नेपालमा र बिश्वभर पनि सरकारी निकायसँगको सहकार्यमा दिवस मनाउन लागिएको हो । यो दिवस विश्वका विभिन्न देश र नेपालको विभिन्न जिल्लामा एकै साथ पनि मनाउने भएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १९) सम्म मनाइने अवसर पारेर डिसेम्बर ८ मा यो दिवस मनाउन लागिएको फाउण्डेसनका संस्थापक एवं तथा मर्या्दित महिनावारीकी अभियन्ता राधा पौडेलले बताइन् ।

डिसेम्बर महिनालाई विश्वभर नै मानवअधिकार महिनाको रुपमा मनाइन्छ त्यसैले महिनावारीलाई पनि मानवअधिकारसँग जोडेर कुरा गर्न लागिएको हो ।

यसैगरी, दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि ‘मर्यादित महिनावारी’ तय गरिएको हो । महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस नेपाल सरकारको सहकार्यमा मनाउन लागिएको बताईएको छ ।

मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता पौडेलले महिलामा हुने महिनावारीलाई सामान्य वैज्ञानिक रुपमा बुझिएमा मात्र महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुन विशेष सहयोग हुने बताईन् । यसमा ‘मेन्स्टुअल टक, डिग्निटी फर्स्ट’ अर्थात महिनावारीलाई पहिले मर्यादित रुपमा हेरिनुपर्ने बिश्वब्यापी धारणा रहेको छ ।

महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिकोणबाट जनचेतना जगाउनको लागि सन् २०१४ देखि हरेक वर्षको २८ मेलाई ‘महिनावारी सरसफाइ’ दिवसको रुपमा मनाइँदै आएको छ ।