ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीलाई सर्मथन

430
views

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङ, चीन र हङकङका जनताप्रति सम्मान प्रकट गर्न आफुले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन् ।

चीन र हङकङबीचको मतभेद अन्त्य र दीर्घकालीन शान्ति र समृद्धिको अपेक्षा सहित नयाँ कानून लागू गरिएको राष्ट्रपति ट्रम्पको भनाइ छ । ट्रम्पको हस्ताक्षरसँगै अमेरिकी कंग्रेसले पारित गरेको सो विधेयकले कानुनको रुप पाएको छ ।

सो कानूनमा हङकङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्न प्रस्ताव गरिएको छ । ट्रम्पले हङ्कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोलीजस्ता हतियार निर्यातमा प्रतिबन्ध लगाउने कानुनमा पनि हस्ताक्षर गरेका छन् ।

पछिल्लो निर्णयले अमेरिका चीन विवाद थप चुलिने अनुमान गरिएको छ । यसअघि नै चीनले अमेरिकालाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेको छ । हङकङमा चिनिया हस्तक्षेपको विरोधमा जुनदेखि निरन्तर प्रदर्शन हुँदै आएको छ ।