साम्राज्य र सामन्तवादसँग नजुधिकन राष्ट्रिय पुँजिवादको विकाश हुँदैन

178
views

–नारायण अधिकारी ‘निश्च्छल’

जहाँसुकैको किन नहोस् अर्धसामन्ती तथा नवऔपनिवेसिक मुलुकमा साम्राज्यवाद र सामन्तसँग नजुधिकन राष्ट्रिय पुँजिवादको विकाश हुन सक्दैन । राष्ट्रिय पुँजीवाद जन्मजातै साम्राज्यवाद र सामन्तवाद बिरोधि हुन्छ । अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुकमा राष्ट्रिय पुँजीवाद सुरुमा अत्यन्तै कमजोर हुन्छ । साम्राज्यवादले राष्ट्रिय पुँजीवादको ठाउँमा दलाल पुँजीवादलाई बिराजमान गराउँदै आएको छ । जुन देशमा दलाल पुँजीवादको सत्ता हुन्छ त्यस्तो ठाउँमा क्रान्तिको पहिलो चरणको कार्यक्रम राष्ट्रिय पुँजीवाद स्थापना गर्ने हुनुपर्छ ।

कम्युनिष्ट पार्टीको स्थापना साम्यवादमा पुग्नको लागि हो । तर अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुकमा एकैपटक साम्यवादमा पुग्न संभव हुँदैन । यस्तो मुलुकमा पहिला राष्ट्रिय पुँजीवाद र पछि समाजवादको क्रान्तिको सेट निर्माण गर्नु पर्दछ । यसो भनेको के हो भने हाम्रो जस्तो अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुकमा क्रान्तिको कार्यक्रम बनाउँदा सर्वहारा वर्गले राष्ट्रिय पुँजीवादी वर्ग देखी मध्यम वर्ग, निम्नपुँजीवादी वर्गसम्मलाई आफ्नो मित्र शक्तिको रूपमा लिने गरि फराकिलो दृष्टिकोण निर्माण गर्नुपर्दछ । कम्युनिष्ट क्रान्तिकारीहरु र राष्ट्रिय पुँजीपतिहरुको साझा सत्रु जतिबेलासम्म दलाल पुँजीवाद र दलाल पुँजीपतिहरु हुन्छन् त्यतिबेलासम्म राष्ट्रिय पुँजीपती र कम्युनिष्ट क्रान्तिकारीहरु बिच अनिवार्य सहकार्यता आवश्यकता पर्दछ । राष्ट्रिय पुँजीवादी क्रान्ति उसको आफ्नै वर्गले गर्नु पर्ने हो तर यो साम्राज्यवादको युगमा त्यो असंभव छ किनभने राष्ट्रिय पुँजीवादलाई सुरुमा नै उठ्नै नसक्ने गरि साम्राज्यवाद ले उसको ठाँउमा दलाल पुँजीपति निर्माण गरि उसैसंग घनिष्ठ सम्बन्ध राख्दछ ।

राष्ट्रिय पुँजिवादका समर्थक राष्ट्रिय पुँजीपतिहरु एक्लैले दलाल पुँजीवादसंग लड्न सक्दैनन् । साम्राज्यवादको सम्पूर्ण आड्भारोसा पाएको हुँदा दलाल पुँजीवाद राष्ट्रिय पुँजीवाद भन्दा बलियो हुन्छ ।

राष्ट्रिय पुँजिवादका समर्थक राष्ट्रिय पुँजीपतिहरु एक्लैले दलाल पुँजीवादसंग लड्न सक्दैनन् । साम्राज्यवादको सम्पूर्ण आड्भारोसा पाएको हुँदा दलाल पुँजीवाद राष्ट्रिय पुँजीवाद भन्दा बलियो हुन्छ । त्यसकारण राष्ट्रिय पुँजीवादलाई पनि अर्को शक्तिको आड्भरोसा अनिवार्यता बन्न पुग्छ हो त्यही कारण हो यो अवस्थामा मित्र शक्तिको खोजी हुँदै जाँदा राष्ट्रिय पुँजीवादले कम्युनिष्ट क्रान्तिकारी पाउँछ भने कम्युनिष्ट क्रान्तिकारीहरुले पनि आफ्नो मित्रको रूपमा राष्ट्रिय पुँजीपति ।

तर अन्तरविरोधै अन्तरविरोधको जालोले जेलिएको यस्तो समाजमा अर्को जटिल अवस्था के पनि छ भने यहाँ कम्युनिष्टको नाममा कम्युनिष्ट क्रान्तिकारीहरु मात्रै पनि छैनन् साम्राज्यवादले अवसरवादी धाराको रूपमा रहेको एउटा ठुलै तप्कालाई कम्युनिष्ट पार्टीको नाममा जनतालाई भ्रम पर्नेगरि सघाएको छ । हो त्यसकारण राष्ट्रिय पुँजीपतिहरुले कम्युनिष्ट क्रान्तिकारी चिन्न र कम्युनिष्ट क्रान्तिकारीहरुले राष्ट्रिय पुँजीपति चिन्न केही समय लाग्ने देखिन्छ । कुन राष्ट्रिय पुँजीपति हो कुन दलाल पुँजीपति हो केलाउन सक्ने कम्युनिष्ट क्रान्तिकारी र कुन कम्युनिष्ट क्रान्तिकारी हो र कुन अवसरवादी कम्युनिष्ट हो भनेर केलाउन सिपालु राष्ट्रिय पुँजीपति स्थापना नहुँदासम्म कम्युनिष्ट क्रान्तिकारी र राष्ट्रिय पुँजीवादीले धैर्यता गुमाउनु हुँदैन । जहाँसम्म दुवै शक्तिलाई एक ठाउँमा ल्याउन मेहनत गर्ने कुरा छ त्यो मेहनतको जिम्मेवारी भने कम्युनिष्ट क्रान्तिकारी को नै बढी हुनुपर्दछ ।