प्रहरीचौकी नहुँदा सुरक्षा चुनौति बढ्यो

2781
views

डोल्पा, १६, मंसिर । हिउँद सुरु भएसँगै उपल्लो डोल्पा सुरक्षा विहीन बनेको छ । त्यहाँका प्रहरीचौकी सदरमुकाम स्थानान्तरण हुँदा सुरक्षा चुनौती बढेको स्थानीयको भनाइ छ ।

उपल्लो डोल्पामा सेफोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसाङ गाउँपालिका पर्छन् । तीनवटै गाउँपालिकामा २१ वडा छन् । यी स्थानीय तहमा ७ प्रहरीचौकी छन् । दसैंअघि नै त्यहाँ रहेका प्रहरी सदरमुकाम दुनै गएका डोल्पोबुद्ध–३, टाक्सीका पेमा छेवाङले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण रञ्जितकारले छार्काताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी मात्र त्यहिँ रहेको बताए । धो, टाक्सी, निजालगुम्बा, साल्दाङ, भिजेर र रापका प्रहरीचौकी विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले सेफोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङका लागि १५ जना प्रहरी पठाउने तयारी भइरहेको जनाएको छ । गाउँपालिकाको मागअनुसार मन्त्रिपरिषद्को निर्णयबाट साल्दाङमा स्थायी प्रहरी चौकी स्वीकृत भएको छ । साल्दाङमा प्रभु बैंकको शाखा कार्यालय पनि छ । त्यसको सुरक्षाको लागि प्रहरी केही दिनमा साल्दाङतर्फ जाने डीएसपी रञ्जितकारले बताए ।