पश्चिममा सतलज र पूर्वमा टिस्टा सिमाना दाबी गर्दै अन्तराष्ट्रिय अदालत जानुपर्छ –गजुरेल

737
views

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानीको ३८५ वर्ग किमि भूमि हडपेर भारतले नयाँ नक्सा जारी गरेपछि सुगौली सन्धियताको २०३ वर्षमा पहिलो पटक नेपालमा सबैभन्दा ठूलो राष्ट्रिय संकट उत्पन्न भएको विश्लेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सन् १८१६ को सन्धि अनुसार भारतले लिम्पियाधुरालाई नेपालको सिमाना मान्दैन भने नेपालीहरुले पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्मको १ लाख ५ हजार वर्ग किमि भूमिमाथि दाबी गर्दै ऐतिहासिक प्रमाणसहित अन्तराष्ट्रिय अदालतमा जानुपर्ने विचार व्यक्त गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले रत्नपार्क शान्तिबाटिकामा सोमबार संयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।

नेपालको तीनवटा भक्तपुर जति भूमि आफ्नो देशमा गाभेर नयाँ नक्सा जारी गरेपछि नेपालमा यति ठूलो विरोध तथा प्रतिरोध आन्दोेलन भइरहँदा पनि मोदी केही नबोलेको र कर्मचारी र उत्तराखण्डको मुख्यमन्त्रीमार्फत् उक्त भूमि भारतकै भएको दाबी गरिरहेको प्रसंगबारे चर्चा गर्दै अध्यक्ष गजुरेलले भारतले सजिलै लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत हडपेको भूमि नछाड्ने बताए र भने, “पूर्खाले रगतको खोला बगाएर बचाएको देश बचाउन अब जुन सुकै पार्टी वा विचारमा लागेको भएपनि सबै एकताबद्ध हुनुपर्दछ । यो बेला देश बचाउन एकताबद्ध हुने बेला हो ।”

देशको रक्षा गर्ने पहिलो र प्रमुख दायित्व सरकारको हो र सरकारले देशको रक्षा गर्न नसकेको बताउँदै अध्यक्ष गजुरेलले भने, “देशमा यति ठूलो राष्ट्रिय संकट पैदा हुँदा पनि काम नलाग्ने सेना, सशस्त्र प्रहरी पाल्न नेपाली जनताले कर किन तिर्ने ? सरकारले तत्काल १० हजारभन्दा बढी सेना कालापानी क्षेत्रमा परिचालन गर्नुपर्छ ।” अब देश बचाउनका लागि नेपालका आम युवाहरुलाई सेनामा भर्ति खोल्नुपर्ने र सबै नेपाली युवाहरुलाई सैन्य तालिम दिनुपर्ने पनि अध्यक्ष गजुरेलले बताए ।

मुलुकमा उत्पन्न राष्ट्रिय संकटको समाधानका लागि ८ बुँदे सुझाव प्रस्तुत गर्दै अध्यक्ष गजुरेलले प्रम ओली र मोदीले तत्काल वार्ता गर्नुपर्ने, यो विषयलाई अन्तराष्ट्रियकरण गर्दै अन्तराष्ट्रिय अदालतमा जानुपर्ने, सबै देशभक्तहरु एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई चर्काउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

अध्यक्ष गजुरेलले देश बचाउने अधिकार सबैको भएको भन्दै जुनसुकै विचार, आस्था र पार्टीको भएपनि एकताबद्ध भएर सशक्त रुपमा आन्दोलनलाई अगाडि बढाउन र साथ दिन सार्वजनिक आव्हान गरे । त्यसका लागि पहल र नेतृत्व गर्न क्रान्तिकारी माओवादी, समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा सँधै तयार रहेको पनि जानकारी दिए ।