प्रथम फलेवास महोत्सव आजदेखि शुरु

667
views

पर्वत, १९, मंसिर । आजदेखी मंसिर २९ गतेसम्म आयोजित प्रथम फलेवास महोत्सवको तयारी पूरा भएको छ । फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा हुने मेलामा १ सय ५० वटा स्टल बनाईएको र सबै स्टल बुकिङ भैसकेको आयोजक युनाईटेड स्पोर्टस क्लबले जनाएको छ ।

मेलामा २ दर्जनको हाराहारीमा सबै विद्याका राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहेको छ । कार्यक्रममा जनवादी गायक जिवन शर्मा, प्रजापती पराजुली, चन्द्र शर्मा, बद्री पंगेनी, पशुपति शर्मा, विमलराज क्षेत्री, बसन्त थापा, दुर्गेश थापा, ज्याती मगर, कस्तुप पन्त, कृष्ण अखेली, खेम सेन्चुरी, तेजेश रेग्मी र सरोज साजन श्रेष्ठ लगायतका लगाकारको प्रस्तुती रहेको छ । फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको आयोजकको भनाई छ । मेला सफल बनाउन अहिले देश देखी विदेशसम्म सहयोग उठाउन थालिएको छ ।

आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिए ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी, स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहेको छ ।