कपाल काटेर मासिक ७० हजार आम्दानी

619
views

राजन पौडेल
पर्वतको । कुश्मा बजारका एक युवा २२ बर्षको उमेरमै एक सफल व्यवसायीको रुपमा स्थापित भएका छन् । पसलमा आउने मानिसहरुको कपाल काटेर मात्रै मासिक करिब ७० हजार रुपैँया आम्दानी गर्दै आएका छन्, युवा व्यवसायी दिपेन्द्र थापा । थापाले बिहान ६ बजेबाट सेवा सुचारु गरेर साँझ ७ बजेसम्म सेवा लिन आउने सेवाग्राहीको कपाल काटेरै ७० हजार आम्दानी गर्दै आएका हुन् ।

देशमै केहि गरौं भन्ने उद्देश्यका साथ शुरु गरिएको उनको पार्लरमा दैनिक ३० देखि ४० जना ग्राहकले सेवा लिने गरेका छन् । उनले सञ्चालन गरेको ‘दिपेन्द्र हेण्डसम् पार्लर’ मा महिलारपुरुष दुवैले सेवा लिइरहेका छन् । दुई बर्ष अघि करिब ३ लाख रुपैँयाको लागतमा पार्लर सञ्चालनमा ल्याइएको थापा बताउँछन् ।

सञ्चालनको क्रममा प्रायजसो मानिसले यो व्यवसाय नचल्ने बरु विदेश जान सल्लाह दिएको र कसैको साथ नपाएको बताउने थापाले केही मानिसहरुले भारतीयहरुले गर्ने पेशा नेपालीले गर्न नसक्ने बताएको समेत स्मरण गरे । शुरुवातमा मानिसहरु हेर्नको लागि मात्र आउने र ‘यसले गर्न सक्दैन, यो व्यवसाय स्थापित हुन गाह्रो छ’ भन्नेहरु अहिले छक्क परेको उनी बताउँछन् ।

पछिल्लो समय नेपालि युवाहरु विदेशीने क्रम बढिरहेका बेला थापाले आफ्नै देश नेपालमा नै केहि न केहि सीप सिकेर सानो लगानीमा धेरै आम्दानी गर्न सकिएको अनुभव सुनाए । भन्छन, – ‘अहिलेको समयमा मानिसहरु विदेश जाने भनेपछि ऋण, धन गरेर भएपनि जतिसुकै लगानी गर्न तयार हुने तर नेपालमा भने सानो लगानी गर्न पनि नमान्ने’ गरेको देखिन्छ । विदेशीनु भन्दा आफ्नो चाहनाअनुसारको सीप सिकेर नेपालमै परिवारसँगै रमाएर नै बस्न सक्नु उत्तम हुने उनको भनाई छ ।

जिल्लाको बागलुङ नगरपालिका –१० भकुण्डेका थापाले आफ्नो व्यापारमा एक जनालाई रोजगारसमेत दिएका छन् । उनको पार्लरमा कपाल काट्ने मात्र नभएर कलरिङदेखि कपाल स्टेट गर्ने, कर्लि बनाउने र फेसियल सम्मका सुविधाहरु महिलारपुरुष दुवैलाई प्राप्त हुन्छन् । थापाको पार्लरमा महिला भन्दा सेवा लिन पुरुष बढि आउने गरेका छन् । यसरी आफूजस्तै नेपालमै केही गर्ने मनसाय बोकेका युवालाई सरकारले विशेष किसिमका योजना ल्याएर स्वदेशमै बस्ने वातावरण मिलाउन सके राम्रो हुने थापाको भनाई छ ।

परिवारका कान्छा छोरा उनी, बागलुङको भकुण्डेदेखि नै व्यवसाय गर्ने उद्देश्यले सानैमा बजार झरेका थिए । केही समय अघि आफ्नै दाई पर्ने अर्काे एक जना व्यक्तिसँग सीप सिकेर आफै व्यवसाय सञ्चालन गरेको उनले बताएका छन् ।