महिला क्रिकेटमा नेपाल श्रीलंकासंग ४१ रनले पराजित

619
views

•  स्वर्णका लागि बंगलादेश र श्रीलंका
• कास्यका लागि नेपाल र मालदिभ्स भिडने
विनोद लामिछाने
मंसिर २०,पोखरा । नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको महत्पूर्ण खेलमा टस जितेर व्याटिङ्ग गरेको श्रीलंकाले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले पुरा २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई सस्तैमा समेटने क्रममा सोनु निसानसलाले आफ्नों ४ ओभरको स्पेलमा १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिइन् । त्यस्तै सत्या संदिपनीले २ तथा मल्सा रनतुङ्गाले १ विकेट लिन सफल भइन् । नेपालको ब्याटिङ्गमा कप्तान रुबिना क्षेत्री बेलवासीले १९, कविता कुँवरले १३, करुणा भण्डारीले १२ तथा अप्सरा बेगमले ११ रन जोडे ।

श्रीलंकाको जितमा लिहिनी अप्सराको ३७ तथा आज अनलीको ३५ रन महत्वपूर्ण रहयो । अप्सराले ५ चौका प्रहार गरेकि थिइन् । त्यस्तै सत्या संदिपनीले २२ तथा हर्षिता माधवीले १६ रन जोड्न सफल भए । नेपालको बलिङ्गमा सरस्वती कुमारी र सोनु खड्काले समान २–२ विकेट आफ्नों नाम गराए । कीर्तिमानी बलर अंजलि चन्दले १ विकेट लिएकी थिइन् ।

प्लेयर अफ द म्याच भएकी श्रीलंकाकी सोनु निसान्सरालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्रि समेत रहेकी साग समन्वय समिति गण्डकी प्रदेशका संयोजक नरदेवी पुनले ट्रफि प्रदान गरिन् ।

जित पछि प्रतिक्रिया दिंदै श्रीलंकन कप्तान हर्षिता समराविराले आफ्ना खेलाडीहरु पुरै लयमा आइसकेको बताउँदै स्वर्ण जित्नेमा आशावादि रहेको बताइन् । त्यस्तै नेपाली टिमका कप्तान रुबिना क्षेत्रीले नेपालको बलिङ्ग र फिल्डिङ्ग राम्रै भएपनि ब्याटिङ्ग राम्रो हुन नसकेको स्किारिन् । खेलाडीहरुले समेत ब्याटिङ्गमा हेलचक्राई गर्दा पराजय व्यहोर्नुपरेको उनले जनाइन् । तर टेष्ट मान्यता राष्ट्रसंगको यो प्रतिस्पर्धा राम्रै प्रतिस्पर्धा भएको उनले दावी गरिन् ।

यो संगै लिगको शिर्षस्थानमा रहेको बंगलादेशसंग श्रीलंकाले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने निश्चित गरेको छ । बंगलादेशले राउण्ड रोबिन लिगमा तीनका तीनै खेलमा जित हाँसिल गर्दै ६ अंक जोडेको थियो भने श्रीलंकाले २ खेलमा जित हाँसिल गर्दै ४ अंक जोडेर दोश्रो स्थानमा रहयो । एक जित सहित २ अंक जोडेको नेपाल तेश्रो स्थानमा रहँदै पुच्छरमा रहेको मालदिभ्ससंग कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल र मालदिभ्सविचको खेल शनिबार हुनेछछ । स्वर्ण पदकका लागि आइतबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धामा उत्रने छन् ।