कर्णालीमा मरीचिका र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

668
views

सुर्खेत, २२, मंसिर । ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ कर्णाली साहित्य समाजले कर्णालीकै ठूलो धनराशिको पुरस्कार शनिवार अर्पण गरेको छ ।

कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद ५० हजार राशीको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति मरीचिकालाई सम्मान पत्रसहित अर्पण गरेका हुन् ।

यसैगरी ‘हजारौ पृथ्वी, हजारौ आकाश’ कविता सङ्ग्रह लगायत कर्णाली ब्लुज, फिरफिरे जस्ता चर्चित कृतिका लेखक बुद्धिसागरलाई नगद २५ हजार राशीको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार अर्पण गरिएको छ ।

नेपाली साहित्यका क्षेत्रमा अनवरत रुपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्र सहित कर्णाली साहित्य समाजले साधना सम्मान अर्पण गरिएको छ ।

कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज कृति पुरस्कार अहिलेसम्मकै कर्णालीको ठूलो धनराशीको साहित्य पुरस्कार हो । मदन पुरस्कारका लागि सातवटा कृति भित्र पर्न सफल भएको ‘मरीचिका’ कृतिले साँच्चिकै समाजको यथार्थतालाई उजागर गरेको कार्यक्रममा बताईएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका सहायक डीन उपप्राध्यापक बिष्णुकुमार खड्काले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वको बारेमा परिचय दिँदै कर्णाली साहित्य समाजले भाषा साहित्यका क्षेत्रमा साँच्चिकै कर्णालीको शिर उँचो बनाएको बताए ।

कर्णाली साहित्य समाजले आफ्नो कृतिलाई छनोट गरि कृति पुरस्कार प्रदान गरेकोमा आफ्नो लेखन कार्यमा थप उर्जा र प्रेरणा मिलेको बताउँदै ‘मरीचिका’का लेखक महेश थापाले नेपाली साहित्यको क्षेत्रमा योगदान गर्न हौसला मिलेको बताए ।

कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा बुद्धिसागरले आफ्नो विगत मात्र नभई वर्तमान समेत कर्णालीमा रहेको बताउँदै नेपाली काव्य विधा र आख्यानका क्षेत्रमा आफूले गरेका कार्यहरुलाई कर्णाली साहित्य समाजले योग्य ठानी दिएकोमा खुसी व्यक्त गरे ।

यसैगरि साधना सम्मानबाट सम्मानित स्रष्टा श्यामलले भने, ‘कर्णालीका यथार्थतालाई रचनाका माध्यमबाट बाहिर ल्याउन सकेको खण्डमा कर्णाली चिनाउन सहयोग पुग्नेछ ।’

कार्यक्रममा कर्णाली साहित्य समाजका सल्लाहकार डा. दीपेन्द्र रोकायाले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई बधाई दिँदै कर्णाली साहित्य समाजले गरेको कार्यले सिंगो कर्णालीलाई गौरवान्वित बनाएको बताए ।

पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले कर्णाली साहित्य समाजले स्थापना गरेको पुरस्कार तथा सम्मान ग्रहण गरिदिनु भएकोमा पुरस्कृत तथा सम्मानित स्रष्टाहरु प्रति आभार व्यक्त गरेका थिए ।

सम्मान कार्यक्रममा साहित्यकारहरु डा. दीपक गौतम, प्रा. खोपीराम लम्साल, विक्रम शिशिर चन्द, ऋषि प्रसाद थानी, भीम थापा, ऋषि शर्मा सुदामालगायतको उपस्थिति रहेको थियो ।