सडक दुर्घटना न्यूनीकरण गर्न टाईम कार्ड लागू

2060
views

सुर्खेत: कर्णाली प्रदेश अन्र्तगत दैलेख सुर्खेत सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय दैलेखले सवारी चालकलाई सवारी आगमन समय तालिका टाइम कार्ड लागू गरेको छ।

दैलेख सुर्खेत सडकखण्डमा दुर्घटना बढ्दै गएको भन्दै टाइम कार्ड लागू गरिएको हो। जिल्ला भरका अधिकांश कच्ची सडकमा बढि दुर्घटना हुने गरेकाले सवारी चालकलाई सचेत बनाउँने उद्देश्यले सवारी आगमन टाइमकार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

आइतबार सवारी आगमन समय तालिका लागू गदै जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज ओमप्रकाश कुर्मीले सवारी चालक सचेत भए दुर्घटना नहुने बताए।

उनले जिल्लाबाट छुट्ने सवारी साधनले अनिवार्य रूपमा सवारी टाइम कार्डको पालना गर्नुपर्ने बताए। उनले सुर्खेत दैलेख सडकखण्डमा आवतआवत गर्दा चालकले सवारी साधन सुस्त गतिमा चलाउन र चालकले मापसे गरेर सवारी साधन चलाएको भेटिए तत्काल कार्वाही गरी लाइसेन्स जफत गरिने बताए।

जिल्लाबाट छुट्ने सवारी साधनका चालकलाई टाइम कार्ड दिँदै जिल्ला प्रहरी प्रमुख ओलीले गाडीमा सवार गर्ने यात्रुको जीवन सवारी चालकका हातमा रहेकाले चालक सक्षम भए दुर्घटना न्यूनीकरण हुने बताए। उनले सबै सजग हुन आग्रह गदै सवारी चालकलाई सचेत बनाउँने उद्देश्यले टाइम कार्ड लागू गरिएको बताए। उनले यात्रा गर्दा सवारी साधनमा सिट बेगर यात्रा नगर्न यात्रुलाई सचेत गराएका थिए।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त प्रयासमा टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए। सुर्खेत प्रहरीसँग समन्वय गरि टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक ओलीले बताउनुभयो ।

पहिलो चरणमा दैलेख सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको र लगत्तै कर्णाली राजमार्गमा पनि लागू गरिने ओलीले जानकारी दिए । यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता १६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि १ घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने ट्राफिक इन्चार्ज ओमप्रकाश कुर्मीले बताए ।